काठमाडौँ। बेलायतमा बसोबास गर्दै आएका नेपाली संगीतप्रेमी दर्शक-श्रोताहरूलाई लक्षित गर्दै आगामी अक्टोबर ९ तारिखमा भब्य सांगीतिक कार्यक्रम ‘सुम्निमा साँझ’ आयोजना हुने भएको छ। एल्डसर्टस्थित चर्चित ‘एम्पायर हल’ मा हुने यस विशेष कार्यक्रममा नेपालका स्थापित तथा लोकप्रिय कलाकारहरूको जम्बो टोलीले बेजोड सांगीतिक प्रस्तुति दिने भएका छन्।

सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रममा कलाकारहरूको ठूलो उपस्थिति रहनेछ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायिका मेलिना राई र ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का उपविजेता गायक रोशन राई रहनेछन्। रियालिटी शोमा कोच र कन्टेस्टेन्टका रूपमा लोकप्रिय बनेका मेलिना र रोशन पहिलो पटक एउटै अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन लागेकाले युकेका दर्शकमाझ बेग्लै उत्साह छाएको छ।यसैगरी, कार्यक्रममा चर्चित गायक प्रताप दास, गायिका पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे तथा चर्चित अभिनेत्री रजनी गुरुङ लगायतका कलाकारहरूले आफ्नो बेजोड प्रस्तुतिमार्फत दर्शकलाई नचाउनेछन्। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुशील नेपालले गर्नेछन् भने नेपालबाट कलाकारहरूको व्यवस्थापन ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्। बेलायतमा सफल व्यवसायीका रूपमा स्थापित सचिन बुढाथोकी र रमेश श्रेष्ठसमेत यस कार्यक्रमका आयोजक रहेका छन्।

मनोरञ्जनका साथसाथै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिइएको यस कार्यक्रमबाट संकलित कुल आम्दानीको ५ प्रतिशत रकम भोटेकोशी तथा रसुवाका बाढीपीडित परिवारलाई सहयोगस्वरूप प्रदान गरिने प्रतिबद्धता आयोजक समितिले जनाएको छ। नेपाली कला, संगीत र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो सांगीतिक साँझले बेलायतमा रहेका नेपालीहरूमाझ आत्मीयता र भव्य उत्सवको माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।






















