काठमाडौँ। तीजको रौनकसँगै नेपाली सांगीतिक बजारमा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीको पीडा र परिवारको पिरलो बोकेको नयाँ तीज गीत ‘खाडी जानेलाई’ सार्वजनिक भएको छ। केवल नाचगान र मनोरञ्जनमा सीमित नरहेर गीतले परदेशी भूमिमा रगत–पसिना बगाइरहेका नेपालीको कथा, चाडपर्वमा परिवारबाट टाढा हुनुको छटपटी र देशको आर्थिक यथार्थलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।लोकदोहोरी क्षेत्रका चर्चित गायक खुमन अधिकारी र गायिका प्रीति आलेको स्वरमा सजिएको यस गीतमा प्रीति आलेकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन राजु सुनामले गरेका छन्।गीतमा विदेशमा रहेका श्रीमान् र स्वदेशमा रहेकी श्रीमतीबीचको सांगीतिक संवादमार्फत वैदेशिक रोजगारीको कहालीलाग्दो अवस्था प्रस्तुत गरिएको छ। शिक्षित भएर पनि स्वदेशमा रोजगारी नपाउँदा बाध्य भएर खाडीको कडा घाममा पसिना बगाउनुपर्ने बाध्यतालाई गीतले मुख्य विषय बनाएको छ। गीतको स्थायी अंश ‘यो गीत सुनाइदेउ खाडी जानेलाई, धेरै धेरै सम्झना छाडी जानेलाई…’ ले परदेशी र तिनका परिवारको मन छाम्छ।
साथै, अत्यधिक ओभरटाइम गरेर ज्यान जोखिममा नपार्न र स्वदेशमै कृषि वा पशुपालन गरेर आत्मनिर्भर बन्न सकिने सकारात्मक सन्देश पनि गीतले दिएको छ।चर्चित निर्देशक तथा कोरियोग्राफर स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा नेपाली गाउँघर र भेषभूषालाई प्राथमिकता दिइएको छ। भिडियोमा रिना थापा, एलिना रायमाझी, टीका जैसी, अस्मिता पुरी, उषा सुवेदी, अमृता थापा र रमेश मगरलगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ।
-
निर्देशन: स्मृति तिमिल्सिना ‘गुरुआमा’
-
छायांकन: दुर्गा पौडेल र गणेश मगर
-
सम्पादन: नविन घर्ती मगर
-
रेकर्डिङ / मिक्सिङ: रमेश खड्का (रेकर्डिङ), बिनोद परियार (मिक्सिङ/मास्टरिङ)सामाजिक सञ्जालले दूरी घटाए पनि साक्षात भेटको तिर्खा मेट्न नसक्ने यथार्थ बोकेको यो गीतले यसपालिको तीजमा हरेक परदेशी र तिनका परिवारको मन छुने अपेक्षा गरिएको छ।






















