काठमाडौँ। लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, सामाजिक प्रतिष्ठा र मान-सम्मानसँग जोडेर मात्रै हेर्ने गरिन्छ। तर, त्यही लाहुरे संस्कृति र जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, गहिरा भावनात्मक पीडा र सम्बन्धका जटिलताहरू कतिसम्म दुखद हुन्छन् भन्ने यथार्थपरक कथा बोकेर चलचित्र ‘पेन्सन पट्टा’ आउने भएको छ।चर्चित निर्देशक माओत्से गुरुङको निर्देशन तथा अभिनेता दयाहाङ राईको मुख्य अभिनय रहेको यो बहुप्रतिक्षित फिल्मको मंगलबार कमलपोखरीस्थित ‘बिग मुभिज’मा एक विशेष कार्यक्रमका बीच औपचारिक ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर सार्वजनिक भएसँगै यसले उठाएको गम्भीर र सामाजिक विषयवस्तुका कारण सिनेमा वृत्तमा निकै ठूलो चासो र चर्चा बढाएको छ।

सार्वजनिक ट्रेलर अनुसार फिल्मको कथा दिवंगत बाबुको पेन्सनपट्टाबाट सुरु हुन्छ। बाबुको मृत्युपछि पेन्सनपट्टामा आफ्नै आमाको नभई बाबुकी पहिलो पत्नी (जेठी आमा) को नाम रहेको रहस्य खुलेपछि कथाले मुख्य मोड लिन्छ। परिवारमा वर्षौंदेखि ओझेलमा परेकी र कसैले स्मरण नगरेकी तिनै जेठी आमाको खोजीमा निस्कने मुख्य पात्रको यात्राले केवल एउटा हराएको व्यक्तिको खोजी मात्र गर्दैन, बरु लाहुरे परम्पराले नेपाली परिवार, सम्बन्ध र समाजमा पारेको गहिरो सामाजिक तथा भावनात्मक प्रभावको तहहरू एक-एक गरी खोल्दै जान्छ। पेन्सनको अधिकार प्राप्तिका लागि सुरु भएको यो खोजी अन्ततः पारिवारिक विगत, सम्बन्धको दूरी र आत्म-पहिचानको प्रश्नसँग जोडिन पुग्छ।

ट्रेलरले सिनेमाको दृश्यभाषा, सिनेमाटोोग्राफी र कलाकारहरूको जीवन्त प्रस्तुति निकै आकर्षक र पकडयुक्त रहेको संकेत गर्छ। भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘पेन्सन पट्टा’ले लाहुरे जीवनको बाहिरी चमकभन्दा पर रहेको सामाजिक र पारिवारिक पाटोलाई मुख्य पर्दामा उतार्ने अपेक्षा गरिएको छ। फिल्मको ट्रेलर OSR Digital को आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।फिल्ममा बहुप्रतिभाशाली स्टारकास्टको अभिनय रहेको छ। दयाहाङ राईका साथै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङ लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले संयुक्त रूपमा निर्माण गरेको यस फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा छन्।

  • छायाँकन: सुशन प्रजापति

  • कास्टिङ निर्देशन: सुरज तामु

  • संगीत: मनोज थापा मगर, शिव बराइली र सुरज तामु

  • सम्पादन: निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुच

  • मुख्य सहायक निर्देशक: तारानाथ न्यौपाने

  • सह-लेखक: सुरज तामु र केर डी. कोइन्च लिनुच

  • कलरिस्ट: राजेन्द्र मोक्तान

  • कला निर्देशक: राजु याकचा

‘पेन्सन पट्टा’लाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्दैछन्। मौलिक कथा र सशक्त अभिनयका कारण यो फिल्मले बक्स अफिसमा राम्रो प्रभाव पार्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया