काठमाडौँ: चर्चित गायिका अञ्जु श्रेष्ठले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै नयाँ सांगीतिक कोसेली ‘एक वर्षमा एकचोटि’ बजारमा ल्याएकी छन्। हरेक वर्ष तीजको अवसरमा मौलिक तथा उत्कृष्ट गीतिसिर्जना लिएर आउने अञ्जुले यसपटक पनि तीजको सांस्कृतिक परम्परा र निरन्तरतालाई जोगाउँदै नयाँ गीत सार्वजनिक गरेकी हुन्।गीतको सम्पूर्ण तयारी तथा छायांकन सम्पन्न भइसकेपछि रसुवामा विनाशकारी बाढी आएर ठूलो जनधनको क्षति पुगेकाले देशको यो संवेदनशील र दुःखद अवस्थाप्रति आफू स्तब्ध र भावुक बनेको गायिका श्रेष्ठले बताएकी छन्। भिडियो निर्माणका क्रममा ठूलो लगानी भइसकेको र सम्पूर्ण काम पहिले नै तयार भइसकेकाले यस्तो विषम परिस्थितिका बीच पनि बाध्य भएर गीत सार्वजनिक गर्नुपरेको उनको भनाइ छ।

अञ्जु श्रेष्ठकै ममधुर स्वर रहेको यस गीतमा शब्द भने चर्चित रचनाकार दीपक शर्मा र निशान साउदले तयार पारेका हुन्। गीतमा संगीत स्वयम् दीपक शर्माको रहेको छ भने संगीत संयोजन तथा मिक्सिङ-मास्टरिङको काम कुशल संगीतकार नरेन्द्र वियोगीले गरेका छन्।

दृश्यकलाका हिसाबले पनि निकै आकर्षक बनाइएको यस भिडियोमा गायिका अञ्जु श्रेष्ठ स्वयम्‌ले उत्कृष्ट नृत्य प्रस्तुत गरेकी छन्। उनलाई अभिनय तथा नृत्यमा मोडल डिम्पल नगरकोटीले सशक्त साथ दिएकी छन्। गीतको भिडियोलाई अनुभवी कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका हुन्।गंगामाया श्रेष्ठ निर्माता रहेको यस गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् भने मनोज कार्कीको रङ संयोजन (Color) तथा सम्पादन (Editing) रहेको छ। भिडियोमा कलाकारहरूको श्रृंगार संगीता मिजारले गरेकी छन्।देशमा परेको प्राकृतिक विपत्ति र संवेदनशील समयलाई ध्यानमा राख्दै परिस्थितिको बाध्यतावश गीत श्रोता/दर्शकमाझ ल्याउनुपरेको स्पष्ट पार्दै गायिका अञ्जुले यस कठिन घडीमा पनि आफ्नो सिर्जनालाई माया, साथ र सहयोग गरिदिन सम्पूर्ण दर्शक तथा श्रोताहरूसँग विनम्र आग्रह गरेकी छन्।

तपाईको प्रतिक्रिया