काठमाडौँ। नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकहरूको त्रिदेशीय सहकार्यमा निर्माण भएको दक्षिण एसियाकै बहुप्रतीक्षित जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते (अक्टोबर ९) देखि नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने भएको छ।शनिबार आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति तय गरेको हो। सार्वजनिक पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङ देखाइएको छ, जसले पहाडमुनिको श्राप (The Curse Beneath the Mountain) र यसभित्र लुकेको भयावह कथालाई संकेत गर्छ।

चलचित्रको बहुप्रतीक्षित ट्रेलर भने आउँदो सेप्टेम्बर २२ (असोज ६) मा काठमाडौँमा एक विशेष भव्य कार्यक्रमका बीच सार्वजनिक गरिनेछ। सो कार्यक्रममा भाग लिन भुटानबाट समेत कलाकार तथा निर्माण टोली काठमाडौँ आउने जनाइएको छ।
डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको यस चलचित्रमा नेपाली र भुटानी स्टारहरूको अभिनय हेर्न पाइनेछ। चलचित्रमा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतका चर्चित कलाकारहरूको मुख्य भूमिका रहेको छ।संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा बनेको यस चलचित्रमा दोर्जी वाङ्चुक कार्यकारी निर्माता र प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्। चलचित्रको छायांकन दीर्घ गुरुङ र संगय टी. तेन्जिङले गरेका हुन् भने राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। थाइल्यान्डका चर्चित सङ्गीतकार टेर्डसाक जानपानको पार्श्व सङ्गीत र निफान स्टुडियोको भिजुअल इफेक्ट्स (VFX) ले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको दाबी गरिएको छ।
नेपालमा लिभेन्ट्स स्टुडियो प्रा.लि. र सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेको यस चलचित्रको अगस्ट १४ मा सार्वजनिक टिजरले अन्तर्राष्ट्रिय वितरकहरूको ध्यान तानेको थियो। नेपाल र भुटानमा रिलिज भएपछि चलचित्रलाई एसिया, उत्तर अमेरिका लगायत विश्वभरका हलमा प्रदर्शन गर्ने तयारी छ।






















