काठमाडौँ। अभिनेता कामेश्वर चौरासियालाई महिला र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको अवतारमा प्रस्तुत गरेर चर्चा बटुलेको चलचित्र ‘परिवार’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको मजेदार टिजर म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकसामु ल्याइएको हो।सार्वजनिक टिजरको सुरुवात कामेश्वर र लक्ष्मीबीचको पारिवारिक किचलो र खटपटबाट हुन्छ। परिवारको मञ्जुरीविना भागेर विवाह गरेका उनीहरूबीचको तीतो सम्वादले कथाको गम्भीरता दर्शाउँछ। टिजरमा लक्ष्मीले “तेरो विश्वासले मेरो परिवारको केही पनि वास्ता नगरीकन म भागेर आएँ” भन्दै आक्रोश पोखेकी छन् भने जवाफमा कामेश्वरले “लग्जरियस लाइफ चाहिएको थियो भने पीआरवालासँग जानुपर्थ्यो” भन्दै व्यंग्य हानेका छन्।
उता, उनीहरूकी छोरीको भूमिकामा देखिएकी सानी पात्रले भगवान्सँग बाबुआमाबीच झगडा नहोस् भनी प्रार्थना गरिरहेकी छिन्। तर टिजरको अन्तिमतिर आउने दृश्यले दर्शकलाई अचम्ममा पार्छ— सुतेर उठेका कामेश्वर र लक्ष्मी आ-आफ्नो शरीर छाम्दै आश्चर्यचकित पर्छन्, जहाँ उनीहरूको रूप र लिङ्ग नै अदलबदल भएको संकेत गरिएको छ।
‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारा बोकेको यस चलचित्रलाई मदन थापाले निर्देशन गरेका हुन्। शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा बनेको चलचित्रमा कामेश्वर र लक्ष्मीका साथै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारहरूको अभिनय रहेको छ।प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, एनबी महर्जनको एक्सन तथा रमेश शाही निर्माता रहेको यो चलचित्र आगामी कार्तिक १३ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।






















