काठमाडौँ ।

देशका प्रमुख मिडिया हाउसहरूको मुख्य गेट अगाडि गाडी तेर्स्याएर त्रास फैलाएको घटनामा नयाँ र सनसनीपूर्ण खुलासा भएको छ। असार २९ गते बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि पार्क गरेर छाडिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको कालो रङको जेको ब्रान्डको गाडी गृहमन्त्री सुधन गुरुङ स्वयंले प्रयोग गर्दै आएको तथ्य बाहिरिएको हो।

सीसीटीभी फुटेज र अनुसन्धानका अनुसार, मिडियाको आवाज दबाउने नियतले छाडिएको सोही शंकास्पद गाडी गृहमन्त्री गुरुङको स्कर्टिङ, व्यक्तिगत ‘मुभमेन्ट’, असार ७ गते चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन तथा हेटौंडा-पथलैया यात्राका क्रममा प्रयोग भएको पुष्टि भएको छ।

स्वकीय सचिवको स्वीकारोक्ति र प्रहरीको पन्छिने प्रवृत्ति

गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले रास्वपा नेता रवि जयसवालको उक्त गाडी गृहमन्त्रीले महाधिवेशनका बेला र नाकामा छड्के अनुगमन गर्दा आफ्नो गाडी चिनिने भएकाले पटक-पटक प्रयोग गरेको स्वीकार गरेका छन्। तर, गाडी धनी रवि जयसवालको फोन भने ‘आउट अफ सर्भिस’ रहेको छ।

अर्कोतर्फ, सञ्चारगृह अगाडि यसरी गाडी तेर्स्याइँदा सुरक्षा दिने जिम्मेवारी पाएका प्रहरी अधिकारीहरू भने जिम्मेवारीबाट पन्छिएका छन्। हेटौंडा र बाराका प्रहरी नायब उपरीक्षकहरूले घटनाबारे अनभिज्ञता प्रकट गर्दा प्रधानमन्त्री कार्यालयका एक अधिकारीले यो सम्पूर्ण घटना गृह मन्त्रालय र गृहमन्त्रीकै प्रत्यक्ष निर्देशनमा भएको दाबी गरेका छन्।

बालेन शाह नेतृत्वको स्थानीय प्रशासन र सुरक्षा व्यवस्थामाथि प्रश्न

काठमाडौँ उपत्यकाको मुख्य सडक र ट्राफिक व्यवस्थापनमा साना ठेलागाडा र सर्वसाधारणमाथि कडा रूपमा प्रस्तुत हुने बालेन शाह नेतृत्वको काठमाडौँ महानगरपालिका र स्थानीय प्रशासनको भूमिकामाथि पनि गम्भीर प्रश्न उठेको छ।

मुख्य मिडिया हाउसका गेटमा गाडी तेर्स्याएर नागरिक तथा सञ्चारकर्मीको हिँडडुल गर्ने अधिकार खोसिँदा महानगरको नगर प्रहरी र स्थानीय प्रशासन मौन बसेको आरोप लागेको छ। प्रहरीले आलटाल गरेपछि अन्त्यमा कान्तिपुर आफैँले निजी क्रेन बोलाएर गाडी हटाउनुपरेको स्थिति सिर्जना भएको थियो।

तपाईको प्रतिक्रिया