बिजुलीको भ्याटमा सरकार र प्राधिकरणको चरम मनपरी: साउनदेखि लाग्नुपर्ने कर असारकै महसुलमा असुलियो!
काठमाडौँ ।
सरकारले आगामी आर्थिक वर्षको साउन १ गतेदेखि मात्र लागु हुने गरी बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरे पनि नेपाल विद्युत् प्राधिकरणले असारमै उपभोग भएको बिजुलीमा समेत भ्याट असुल्न थालेको छ। नियमविपरीत असारको महसुलमा समेत ५ प्रतिशत भ्याट जोडेर बिल जारी हुन थालेपछि उपभोक्ताहरू आक्रोशित बनेका छन्।
गत जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत साउन १ गतेदेखि लागू हुने गरी ५० युनिटभन्दा माथिको बिजुली महसुलमा भ्याट लगाउने घोषणा गरेका थिए। तर, प्राधिकरणले असार महिनाभर उपभोग गरिएको बिजुलीको बिल साउनमा भुक्तानी गर्न जाँदा असारकै खपतमा ५ प्रतिशत भ्याट जोडेर बिल जारी गरिरहेको छ।
उपभोक्तामाथि गैरकानुनी भार र अन्योल
समान्यतया जुन महिनामा बिजुली उपभोग गरिन्छ, करको दर पनि सोही समयको कानुन अनुसार लागु हुनुपर्ने हो। साउन १ गतेभन्दा अघि (असारमा) खपत भएको बिजुलीमा साउनको नयाँ कर दर लागु गराउनु सरासर गैरकानुनी र उपभोक्तामाथिको ठगी भएको सरोकारवालाहरू बताउँछन्।
असारको बिजुली बिल साउनमा तिर्दा जोडिएर आएको भ्याटबारे सर्वसाधारण, व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरूले कडा विरोध जनाएका छन्। प्राधिकरणको यो कदमले उपभोक्ताबीच अन्योल मात्र बढाएको छैन, सरकारी निकायहरूबीचको समन्वयहीनता र हतारमा निर्णय पोख्ने प्रवृत्तिलाई समेत नाङ्गो पारेको छ।





















