हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन अझै केही समय बाँकी छ। तर, नेपाली साङ्गीतिक बजारमा भने तीजको रौनक अहिल्यैदेखि सुरु भइसकेको छ। यसपटकको तीजमा दर्शक र श्रोताको मन जित्ने गीतको सूचीमा ‘केटी पार्टी’ बलियो दाबेदारका रूपमा देखिएको छ।”उमेर कहिल्यै बाधक हुँदैन, इच्छा र आत्मविश्वास भए जुनसुकै उमेरमा पनि नाच्न, रमाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ” भन्ने बलियो र सकारात्मक सन्देश बोकेको यस गीतले सार्वजनिक हुनासाथ दर्शक तथा श्रोतामाझ निकै राम्रो चर्चा बटुल्न थालेको छ।“चाहेपछि उमेरले छेक्दैन, इच्छा भएपछि कुनै कुराले रोक्दैन” भन्ने मूल भावलाई आत्मसात् गर्दै तयार गरिएको यो गीतले गाउँदेखि सहरसम्म तीजको वास्तविक उल्लास फैलाउने विश्वास निर्माण गरेको छ। ५०–६० वर्षको उमेरमा पुगेका महिलाहरू पनि रातो सारी–चोलीमा सजिएर, समाजका सङ्कुचित घेराहरूलाई तोड्दै कम्मर मर्काएर रमाइलो गर्न सक्छन् भन्ने सन्देश भिडियोमा सशक्त रूपमा प्रस्तुत गरिएको छ।

शान्तिश्रीको स्वर र बहुप्रतिभाशाली मनिष श्रेष्ठको सिर्जना
यस गीतमा पछिल्लो समयकी सर्वाधिक सफल र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। गीतको शब्द रचना, सङ्गीत सिर्जना, कोरियोग्राफी तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी बहुप्रतिभाशाली कलाकार मनिष श्रेष्ठले सम्हालेका छन्। आकाश नेपालीले गीतको संगीत संयोजन (एरेन्ज) तथा मिक्सिङ र मास्टरिङ गरेका हुन्।
नेपाली संगीत क्षेत्रमा हजारौँ म्युजिक भिडियो निर्माण गरिसकेका मनिष श्रेष्ठ आफ्ना चर्चित गीतहरू ‘जाली रुमाल’, ‘कालो चस्मा’, ‘तिमी आउने आसैमा’, ‘क्युटी मिस’ तथा ‘घरको छत’ शृङ्खलामार्फत लाखौँ दर्शकमाझ लोकप्रिय छन्। उनका सयौँ गीतले युट्युबमा मिलियन क्लब (दश लाखभन्दा बढी भ्युज) मा स्थान बनाइसकेका छन्। बहुआयामिक व्यक्तित्व श्रेष्ठले मोटरसाइकलमार्फत विश्व कीर्तिमानसमेत कायम गरिसकेका छन् भने भारतमा पुगेर चर्चित गायिका सोनु कक्कडसँग पनि साङ्गीतिक सहकार्य गरिसकेका छन्।

गीतको म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, सरदा श्रेष्ठ र नूतन अधिकारीको जीवन्त एवं ऊर्जावान् अभिनय देख्न सकिन्छ, जुन यस भिडियोको मुख्य आकर्षण हो।गीतमा मुख्य भूमिकामा देखिएकी बिमला भण्डारी सफल व्यवसायीसँगै सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। तीज गीतमा पहिलोपटक देखिए पनि आगामी वर्षहरूमा पनि नियमित रूपमा तीज गीत ल्याउने योजना रहेको उनले बताएकी छन्। त्यसैगरी कोइली थापा, सरिता थापा, नूतन अधिकारी र सरदा श्रेष्ठ पनि सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न संघ–संस्थामार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएका प्रतिष्ठित व्यक्तित्व हुन्। उनीहरूले यसपटक रहर, उत्साह र समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले तीज गीत निर्माण गरेको र आगामी वर्षहरूमा पनि यही टोलीबाट निरन्तर नयाँ सिर्जनाहरू ल्याउने तयारी रहेको जानकारी दिएका छन्।
उनीहरू हाल थ्री६० डान्स एन्ड जुम्बा क्लासमा नृत्य प्रशिक्षणसमेत लिइरहेका छन्, जहाँ मनिष श्रेष्ठ स्वयं मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्। नृत्य क्षेत्रमा पनि श्रेष्ठले विभिन्न राष्ट्रिय प्रतियोगितामा उपाधि तथा सम्मान हासिल गरिसकेका छन्।





















