काठमाडौं – यही कार्तिक २१ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै गरेको बहुप्रतिक्षित नेपाली फिल्म ‘मन बिनाको धन’ ले सेन्सर बोर्डबाट ‘यूनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्र जाँच पास समितिबाट यो सर्टिफिकेट पाएसँगै अब यो फिल्म सबै उमेर समूहका दर्शकहरूले निःसंकोच हेर्न सक्नेछन्।निर्माण टिमका अनुसार, सेन्सर बोर्डका सदस्यहरूले बाल गायक अशोक दर्जीको जीवन कथालाई स्पर्श गर्ने सामाजिक र भावनात्मक विषयवस्तुमा बनेको यो फिल्मको खुलेरै प्रशंसा गरेका छन्। उनीहरूले फिल्म उत्कृष्ट बनेको बताउँदै यसको व्यावसायिक सफलताका लागि शुभकामना समेत दिएका छन्।

फिल्मका निर्देशक तथा निर्माता टंक बुढाथोकीले भने, “ट्रेलरले पाएको माया र प्रतिक्रिया हामीका लागि ठूलो हौसला हो। हामीलाई विश्वास छ, दर्शकहरूले पनि फिल्मलाई त्यस्तै माया गर्नेछन्।” युट्युबमा सार्वजनिक ट्रेलरलाई हालसम्म १० लाखभन्दा बढी पटक हेरिएको छ, जसले फिल्मप्रति दर्शकको चासो र उत्साह झल्काउँछ।
फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको दमदार अभिनय रहेको छ।फिल्ममा अशोक दर्जीको संघर्ष र जीवनयात्रालाई प्रेरणादायी रूपमा प्रस्तुत गरिएको छ। सडकमा गीत गाएर जीवनयापन गरिरहेका अशोकलाई टंक बुढाथोकीले ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत एउटा नयाँ पहिचान दिलाएका थिए। अहिले अशोक काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्, र यो फिल्म पनि उनको जीवन र परिवेशलाई नजिकबाट चित्रण गर्छ।

निर्मात्री मिनु शर्मा भने फिल्मको सकारात्मक चर्चा र ‘यूनिभर्सल’ सर्टिफिकेट पाउँदा निकै उत्साहित देखिएकी छन्। उनले खुशी व्यक्त गर्दै भनिन्,
“यो सर्टिफिकेट हाम्रो टिमको मिहिनेतको प्रतिफल हो। दर्शकहरूको माया नै हाम्रो लागि कोसेली र उपहार हो। नेपाली दर्शक भनेको मेरो लागि भगवान हुन्। भगवानलाई खुशी पार्न हामीले यो फिल्ममा मनदेखि मिहिनेत गरेका छौं।”
फिल्मको कथा टंक बुढाथोकीले नै लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मकी निर्माणकर्ता विष्णुमाया मैनाली हुन्। सपना शर्मा (सपना) कार्यकारी निर्माताको रूपमा रहेकी छिन् भने जीपी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह–निर्मातामा रहेका छन्।फिल्मका क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी, संगीत टंक बुढाथोकी, छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी गुरुङ र मुख्य सहायक निर्देशन नवराज शर्माको रहेको छ।‘मन बिनाको धन’ लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ। प्रचार–प्रसारमा बनेको बलियो हाइपका कारण निर्माण टिमले फिल्मले व्यावसायिक रूपमा सुखद ओपनिङ गर्ने अपेक्षा राखेको छ।























