काठमाडौँ। एक्सन स्टार विराज भट्ट र उनका छोरा, युवा स्टार समीर भट्टको मुख्य अभिनय रहेको बहुप्रतीक्षित चलचित्र ‘१२ गाउँ २’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। १ मिनेट ५० सेकेन्ड लामो टिजरमा कथाको सस्पेन्स कायमै राख्दै धमाकेदार एक्सन दृश्यहरू समावेश गरेर सार्वजनिक गरिएको हो।सार्वजनिक टिजरको पूरा केन्द्रमा दुई नायकहरू विराज भट्ट र समीर भट्ट नै छाइरहेका छन्। विशेष गरी नेपाली सिनेमामा विरलै देखिने मोटरबोट र पानीभित्र खिचिएका जोखिमपूर्ण एक्सन दृश्यहरूले चलचित्रले दर्शकलाई नयाँपन र अन्तर्राष्ट्रिय स्तरको स्वाद दिने प्रस्ट सङ्केत गरेको छ। टिजरमा समीरको एक्सन अवतार र विराज भट्टको दमदार स्क्रिन प्रेजेन्सले दर्शकको होस उडाएको छ।

टिजर हेरेपछि सिनेमा प्रेमीहरूले “टिजरले त यतिसम्मको तहल्का मच्चायो र होस उडायो, पूरा चलचित्रले हलमा कस्तो आँधी ल्याउला?” भन्दै सामाजिक सञ्जालमा उत्साह व्यक्त गरिरहेका छन्।

विराज भट्ट स्वयंको निर्देशनमा बनेको यस चलचित्रमा नव-नायिका काफिया शाहीको पनि मुख्य अभिनय रहेको छ। अघिल्लो भाग ‘१२ गाउँ’ बाट समीर भट्टले सफलताका साथ डेब्यु गरेका थिए, जसको दोस्रो शृङ्खलाप्रति दर्शकको प्रतीक्षा निकै उच्च छ।

तपाईको प्रतिक्रिया