काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा नयाँ उपलब्धि थपिएको छ। बेलायतमा सम्पन्न ‘मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्यालो पारेको छ।

फिल्मका छायाकार सौरभ लामाले खिचेको आकर्षक दृश्य र कलात्मक प्रस्तुतीका कारण यस फिल्मलाई ‘बेस्ट सिनेमाटोग्राफी अवार्ड’ प्रदान गरिएको हो। उक्त फिल्मका निर्माता तथा निर्देशक मित्र प्रधान (नर) अवार्ड समारोहमा सहभागी हुन अमेरिकाबाट बेलायतको मिल्टन किन्स पुगेका थिए। उनले अवार्ड ग्रहण गर्दै भने, “नेपाली फिल्मले यति ठूलो अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड हात पर्नु हाम्रो सम्पूर्ण टिमको मेहनतको प्रतिफल हो। यो केवल मेरो होइन, सम्पूर्ण नेपाली चलचित्र परिवारको गर्व हो।”

यस फिल्मले विश्वभरिबाट सहभागिता जनाएका सयौँ फिल्मबीच प्रतिस्पर्धा गर्दै यो उपलब्धि हासिल गरेको हो। निर्देशक प्रधानले थपे, “हाम्रो सानो देश नेपालबाट बनेको फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलमा यस्तो मान्यता पाउनु नेपाली चलचित्र क्षेत्रकै लागि ऐतिहासिक क्षण हो।”

त्यस्तै, यो फिल्मले अर्को सुखद समाचार पनि पाएको छ। अमेरिकाको ‘सान फ्रान्सिस्को इन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा पनि फिल्म ‘यो मन त मेरो नेपाली हो’ आधिकारिक रूपमा छनोट भएको छ। यो जानकारी फिल्मका कलाकार तथा निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले दिएका हुन्।

इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार गरिएको यस फिल्मको प्रस्तुतकर्ता मित्र प्रधान (नर) र निर्माता ज्ञान बहादुर प्रधान (रोशन) हुन्। फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’ लगायतका चर्चित कलाकारहरूको दमदार अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा शिवम् अधिकारीले लेखेका हुन् भने द्वन्द्व निर्देशन देव महर्जन, भिएफएक्स समिर मिया, सिजिआई सत्यम राना, सम्पादन बनिश शाह, कोरियोग्राफी कविराज गहतराज र प्रमोद भण्डारीको रहेको छ।

संगीतमा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईले सुमधुर धुनहरू भरेका छन्। गीतका शब्द दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी ‘घायल’अनिश अधिकारी (खैजडी गीत) ले लेखेका हुन्।

फिल्मको उत्कृष्ट छायाङ्कन, मार्मिक कथा, सामाजिक सन्देश र सशक्त अभिनयले दर्शक र समीक्षक दुवैको मन जितिरहेको छ। अहिले फिल्मको यो अन्तर्राष्ट्रिय सफलता पश्चात् टिमले नेपालमा पनि यसको विशेष प्रदर्शनको तयारी गरिरहेको जनाएको छ।

यो मन त मेरो नेपाली हो’ ले देखाएको सफलता नेपाली फिल्म उद्योगका लागि मात्र होइन, सम्पूर्ण नेपाली सर्जकहरूका लागि प्रेरणादायी कदमको रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया