काठमाडौं ।आगामी कार्तिक १४ गते प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र **‘परान’**ले काव्यिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता नीर शाहको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरले नेपाली चलचित्र क्षेत्र र दर्शकको मन एकैछिनमा भावुक बनाएको छ।कवि नवराज पराजुलीको लेखनी र स्वरमा प्रस्तुत यो पोएटिक टिजरमा, एक बाबुको हृदयको गहिरो मर्म, स्नेह र जीवनको अन्तिम आशा ओतप्रोत रुपमा अभिव्यक्त गरिएको छ। जीवनको उत्तरार्धमा पुगेको एक बाबुले आफ्ना छोरासँगको सम्बन्धलाई ईश्वरको उपहारका रूपमा स्वीकार गर्दै अन्तिम साससम्म साथको अपेक्षा राखेका छन्।

कवि पराजुलीका गहकिला शब्दहरू—
“जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन,
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन…”
यी हरफहरूले केवल कविताको माधुर्यता मात्र होइन, एक बाबुको आत्मा बोल्ने पीडा र ममता उजागर गर्छन्।
टिजरमा नीर शाहको भावनात्मक अभिव्यक्ति मार्फत यी शब्दहरूले दृश्यमा यस्तो जादू भरिदिएका छन्, जसले हरेक दर्शकलाई आफ्ना अभिभावक र सन्तानबीचको नाताको गहिराइ सम्झाइदिन्छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइली लगायतका कलाकारहरू देख्न सकिन्छ। सबै कलाकारहरूको सशक्त उपस्थिति र निर्देशक **दीपकप्रसाद आचार्य (काकु)**को संवेदनशील निर्देशनले टिजरलाई आत्मीयताको सुगन्धले भरिदिएको छ।
‘सक्किगोनी’ फेम निर्देशक आचार्यको यो डेब्यु निर्देशन हो। रिदम कंडेलको संगीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वरले फिल्मलाई थप भावनात्मक रंग दिएको छ। शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी र मित्र डी. गुरूङको सम्पादनले यसलाई दृश्य र भाव दुवैको उत्कृष्ट संयोजनमा परिणत गरेका छन्।
देशकै प्रतिष्ठित गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त निर्माणमा बनेको बाइस्कोप सिनेमा प्रालिको यो फिल्म, नेपाली सिने क्षेत्रकै ठूलो परियोजनामध्ये एक हो।
काव्य, भावना र पारिवारिक सम्बन्धको संवेदनशील प्रस्तुतीकरणका कारण, ‘परान’ केवल एउटा फिल्म होइन — यो प्रेम, त्याग र सम्बन्धको आत्मस्वर हो।
यसले दर्शकलाई रुवाउने, छुन सक्ने र आफ्ना आमा–बुबाको मायाको मूल्य पुनः सम्झाउने पक्कै छ।






















