काठमाडौं।
दशैंको बिदाइसँगै देशभर दिपावली अर्थात् नेपालीहरूको अर्को महान चाड तिहारको रौनक छाउन थालेको छ। यसै अवसरमा नेपाली कलाकारहरूले तिहारलाई समर्पित गीतहरू एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेका छन्। त्यही क्रममा अमेरिका वासिन् लोकप्रिय गायिका अमृता लुङ्गेली मगरले पनि आफ्नै युट्युब च्यानल “Amrita Lungeli Magar Official” बाट तिहार विशेष गीत ‘देउशी भैलो’ सार्वजनिक गरेकी छिन्।
विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतप्रति निरन्तर योगदान दिँदै आएकी अमृता लुङ्गेली मगरको यो नयाँ सिर्जनाले फेरि एकपटक उनको संगीतप्रतिको गहिरो लगावलाई उजागर गरेको छ। परदेशमा रहेर पनि स्वदेशको संस्कृति र परम्परालाई निरन्तरता दिइरहेको उनको प्रयासप्रति धेरैले प्रशंसा व्यक्त गरिरहेका छन्।

‘देउशी भैलो’ गीतमा नेपालका चर्चित गायक–गायिकाहरूको सहभागिता रहेको छ। अमृता लुङ्गेली मगरसँगै कोमल ओली, राजु परियार, बिमल राज क्षेत्री, टिका पुन र सरोज बिरही कार्कीको आवाज सुन्न सकिन्छ। विभिन्न पुस्ताका चर्चित स्वरहरूको संगम भएकाले पनि गीतले छोटो समयमा नै उल्लेखनीय चर्चा बटुलेको छ।गीतमा शब्द, संगीत र एरेञ्ज सरोज बिरही कार्कीले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ बिमल छिनालले गरेका छन्। गीतको रेकर्डिङ डाइनामिक स्टुडियोमा गरिएको हो। भिडियो निर्देशन उदिराम खड्काले गरेका छन्। भिडियोमा कृष्ण प्रसाद कँडेल, प्रतिमा कँडेल, उषा सुवेदी, सुरेश कोहली, जमुना राना र मञ्जु गौतमको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ। छायांकन केशव विश्वकर्माले र सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन्। नृत्य संयोजन सत्यवती कला केन्द्रले गरेको छ।

लोक परम्परामा आधारित यो गीतले देउसी–भैलो संस्कृतिको मौलिक स्वादलाई आधुनिक प्रस्तुतिसँग जोडेको छ। गीतमा तिहारको उज्यालो, माया, स्नेह र नेपाली समाजको एकता झल्किएको छ। गाउँघरदेखि शहरसम्म सबै उमेरका दर्शक–श्रोतालाई जोड्न सफल यो गीतले तिहारको माहोललाई झनै रमाइलो बनाएको छ।संगीतकर्मीहरूका अनुसार ‘देउशी भैलो’ केवल एउटा गीत मात्र नभई परदेशमा रहेर पनि नेपालीपनलाई जोगाइराख्ने एउटा संस्कृतिक अभियान हो।






















