काठमाडौँ। आगामी कात्तिक ६ गते (बडा दसैँको पर्सिपल्ट) देखि देशव्यापी रूपमा प्रदर्शनको तयारीमा रहेको यो वर्षकै बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को पहिलो गीत ‘थाक खोलाको हावा सरर’ औपचारिक रूपमा सार्वजनिक भएको छ। लोकप्रिय संगीतकार तथा गायक कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वरमा सजिएको यस गीत सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र मुख्य पात्र ‘काजी’ (दयाहाङ राई) को जीवन परिपरि घुमेको रहस्य थप पेचिलो र कौतूहलपूर्ण बनेको छ।
सार्वजनिक गीतमा दयाहाङ राईका साथमा तीन-तीन जना चर्चित नायिकाहरू मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ एकसाथ फिचरिङ छन्। गीतमा दयाहाङ पुनः उही पुरानै शैली र अवस्थामा प्रस्तुत भएका छन्— परिवारभन्दा साथीभाइसँगै अल्मलिने र रमाउने प्रवृत्ति। गीतको भिजुअलले चलचित्रको मूल कथाको सार दर्साएको छ। दृश्यमा नवनायिका सिर्जना गुरुङ घरमा काम गरिरहेकी हुन्छिन्, घरबाट निस्कँदा दयाहाङले मिरुना मगरलाई भेट्छन् भने पुनः मेडिकलमा पनि मिरुनाकै उपस्थिति देखिन्छ। गीतको अन्त्यतिर ‘मैया’ को रूपमा चर्चित अभिनेत्री रिश्मा गुरुङ दयाहाङलाई पानी दिन आउँछिन्, तर काजीले रिश्माको हातमा भएको कागती खोसेर खान्छन्। यिनै तीन दृश्यको सेरोफेरोमा चलचित्रको मुख्य सस्पेन्स घुमेको स्पष्ट हुन्छ।

नेपाली चलचित्र बजारको सबैभन्दा सफल र लोकप्रिय सिक्वेल ‘कबड्डी’ को अघिल्लो चौथो भागपछि पनि काजीको अधुरो कथालाई पाँचौँ शृङ्खलामा अझ पूर्णता दिन खोजिएको छ। पहिलो र दोस्रो शृङ्खलामा ‘मैया’ को भूमिकाबाट अपार माया पाएकी रिश्मा गुरुङको पुनरागमनले दर्शकमा पुरानो ‘कबड्डी’ को न्यास्रो मेट्ने अपेक्षा गरिएको छ भने विपिन कार्की र सिर्जना गुरुङको नयाँ प्रवेशसँगै मिरुना मगरको भूमिकालाई गोप्य राख्नुले चलचित्रलाई थप सस्पेन्स बनाएको छ।
चलचित्रमा काजीका पुराना मित्रहरू बुद्धि तामाङ र विजय बरालको भूमिका उस्तै मजेदार तर खास देखिन्छ। काजीलाई आफ्नै बुवाले थुक्नु र काजीले साथीहरूलाई घरबाट खेदाउन खोज्नुले यो शृङ्खलामा पनि काजीको पारिवारिक कलह र किचलो उस्तै रहने सङ्केत गर्छ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विपिन कार्की, अरुणा कार्कीलगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ। बासुरी फिल्म्सको प्रस्तुतिमा मणिराम पोखरेल, रामबाबु गुरुङ, मधु मिजार र विशाल गुरुङले संयुक्त रूपमा निर्माण गरेको यो सिनेमा आगामी कात्तिक ६ गते देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउँदै छ।





















