गुरुङ समुदायको भाषा, संस्कृति, मौलिक पहिचान र गाउँको प्राकृतिक सुन्दरतालाई साङ्गीतिक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको ‘लुम्रे गाउँ’ गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ।चर्चित गायिका मेलिना राईको सुमधुर स्वर रहेको यस गीतमा रामप्रसाद गुरुङको शब्द तथा सङ्गीत रहेको छ। गीतको शब्द सिर्जनामा पासाङ गुरुङ (कान्छा) ले सघाएका छन् भने आन्दे गुरुङ (काले), रामप्रसाद गुरुङ, उषा गुरुङ र ममता गुरुङको पृष्ठभूमि स्वर (Backing Vocals) सुन्न सकिन्छ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८, लुम्रे गाउँलाई केन्द्रमा राखेर तयार पारिएको यस साङ्गीतिक प्रस्तुतिमा काठमाडौँस्थित फाइन ट्युन रेकर्डिङ स्टुडियोमा तेजेन्द्र गुरुङले एरेन्ज तथा रेकर्डिङको काम गरेका हुन् भने पोखराको बार डिजिटल स्टुडियोमा बुद्धराज बज्राचार्यले मिक्सिङ गरेका छन्।
सार्वजनिक म्युजिक भिडियोमा सेरिना गुरुङ मुख्य मोडलका रूपमा फिचर छिन् भने रामप्रसाद गुरुङ र एलिशा गुरुङले सहायक कलाकारका रूपमा अभिनय गरेका छन्। जस्सु गुरुङको निर्देशनमा तयार भएको भिडियोलाई निकोलस गुरुङले डीओपी तथा सम्पादन गरेका हुन्। आकर्षण आचार्यको छायाङ्कन, बिनिता गुरुङको मेकअप, जलन गुरुङको नृत्य निर्देशन र लाइनअप स्टुडियोजको पोस्ट-प्रोडक्सन भिडियोमा रहेको छ।
शिव गुरुङ र दिलमाया गुरुङ निर्माता रहेको यस भिडियोमा १६ जना कोरस नृत्य कलाकारहरूको आकर्षक सहभागिता छ। नव निश्चल युवा क्लब र मिर्मिरे आमा समूहको विशेष सहयोगमा निर्मित यस भिडियोले स्थानीय कला, संस्कृति र लुम्रे गाउँको प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।





















