काठमाडौं ।
विश्व चर्चित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स को नेपाली फ्रेन्चाइज मिस युनिभर्स नेपाल २०२५ को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार साँझ ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा १४ जना प्रतियोगीलाई पछाडि पार्दै सान्याले उपाधि चुमेकी हुन् ।प्रतियोगितामा आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौथो उपविजेता घोषित भए ।

विजेता बनेकी सान्याले नगद २ लाख रुपैयाँसहित हजारौँ रुपैयाँ बराबरका आकर्षक उपहार प्राप्त गरिन् । यस्तै उनले आउँदो नोभेम्बर २१ मा थाइल्याण्डको बैंककमा हुने ७४औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।उपाधि जितेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै सान्याले नेपालमा पछिल्ला वर्षमा देखिएको जेनजी (Generation Z) प्रदर्शन र त्यसबाट पर्यटन क्षेत्रमा परेको असरबारे आफ्नो दृष्टिकोण राखिन् । उनले नेपाल अब शान्त भइसकेको सन्देश विश्वभर पुर्याउने बताइन् । साथै उनले मिस युनिभर्सजस्तो ठूलो प्लेटफर्ममा नेपालको पर्यटकीय सम्भावना मात्र नभई अन्य विविधताहरूको समेत प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा मिस युनिभर्स नेपाल २०२५ की राष्ट्रिय निर्देशक संगीता पुरीले विजेताहरुलाई बधाई दिँदै उनीहरूले आगामी दिनमा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास व्यक्त गरिन् ।ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्षको संस्करण पनि भव्य ढंगले सम्पन्न भएको आयोजकले बताएका छन् ।























