काठमाडौं । वर्षको प्रतिक्षित भनिएको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ अब सबै उमेर समूहका दर्शकका लागि हेर्न खुला भएको छ। केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट (U) प्रदान गर्दै सेन्सर पास गरेको हो।
निर्देशक दिपेन्द्र के. खनालको निर्देशनमा तयार भएको यस चलचित्रलाई सेन्सर बोर्डले समीक्षात्मक रूपमा अत्यन्त सकारात्मक टिप्पणी दिएको छ। बोर्डका कार्यसमितिका सदस्यहरू चलचित्रको क्लाइमेक्स दृश्य हेर्दा भावुक बनेको बताइएको छ। उनीहरूले फिल्मले हसाउँदै–हसाउँदै अन्ततः दर्शकलाई भावुक बनाउन सफल भएको भन्दै प्रशंसा गरेका छन्।फिल्ममा नेपाली मनोरञ्जन क्षेत्रका ख्यातिप्राप्त कलाकारहरूको बलियो टोली रहेको छ। यसमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन्।
चलचित्र दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्।कृष्ण बहादुर थापाले छायांकन गरेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। यसमा वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ भने आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईले स्वर दिएका छन्।

फिल्मको कथावस्तु र प्रस्तुतिबाटै दर्शकमा ठूलो अपेक्षा रहेको बताइन्छ। ट्रेलर सार्वजनिक भएसँगै यसप्रति उत्साहजनक प्रतिक्रिया पाइएको थियो। सेन्सर पाससँगै अब ‘हरिबहादुरको जुत्ता’ सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा बसेर हेर्न सक्ने चलचित्रका रूपमा प्रस्तुत भएको छ।दर्शकहरूले लामो समयदेखि प्रतीक्षा गरेको यस चलचित्रले मनोरञ्जनसँगै भावनात्मक अनुभूति पनि दिलाउने अपेक्षा गरिएको छ। दशैंको वातावरणसँगै चलचित्र प्रदर्शनमा आउँदा हलमा दर्शकहरूको भिड हुने अनुमान गरिएको छ।
अब ‘हरिबहादुरको जुत्ता’को वास्तविक स्वाद दर्शकहरूले असोज १३ गतेदेखि सिनेमा हलमै चाख्न पाउनेछन्।






















