नेपाली चलचित्र बजारमा अहिले सबैभन्दा धेरै प्रतिक्षा गरिएको चलचित्रमध्ये एक ‘हरिबहादुरको जुत्ता’ यही आउँदो फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। दिपेन्द्र के खनालको निर्देशनमा बनेको यो चलचित्रले ट्रेलर सार्वजनिक भएसँगै नेपाली दर्शकमाझ उत्साहजनक प्रतिक्रिया बटुल्न सफल भएको छ।हरिवंश आचार्यको चर्चित टेलिभिजन पात्र हरिबहादुर नेपाली दर्शकमाझ दशकौं अघि नै लोकप्रिय भइसकेको नाम हो। साना देखि ठूला सबै पुस्ताले चिनेको र हाँसोमा रमाउने यो पात्र अहिले पहिलो पटक ठुलो पर्दामा देखिन लागेको छ। यही कारण पनि चलचित्रप्रति दर्शकमाझ छुट्टै उत्साह र अपेक्षा बढेको देखिन्छ ।

दशैंमा पारिवारिक रमाइलो
चलचित्रलाई निर्माताले रमाइलो,र पारिवारिक कथामा प्रस्तुत गर्ने बताएका छन्। दशैं जस्तो पारिवारिक पर्वमा हलमा बसेर सम्पूर्ण परिवारले एकैसाथ रमाइलो गर्न सक्ने खालको चलचित्र भएकाले यसले बक्स अफिसमा राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। नेपालसँगै यो चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने संकेत देखिएको छ। चलचित्रलाई अमेरिकाका ८० वटा पर्दामा रिलिज गर्ने तयारी भएको छ। अमेरिकामा यसको वितरण आहाना पौडेलले गर्दैछिन्। यो उनको पहिलो वितरण अनुभव भए पनि चलचित्र क्षेत्रका अनुभवी वितरक उज्ज्वल पौडेलका छोरा भएकाले उनको डेब्युलाई पनि चलचित्र क्षेत्रमा रोचक नजरले हेरिएको छ। हाल टेक्सासमा बस्दै आएका आहानाले हरिवंश आचार्य स्टारर यो चलचित्रलाई अमेरिकाको बक्स अफिसमा पुर्याउने तयारी गरिसकेका छन्।
चलचित्र ‘हरिबहादुरको जुत्ता’ को प्रचार सामग्रीलाई दर्शकले अहिलेसम्म निकै सकारात्मक प्रतिक्रिया दिएका छन्। पोष्टर देखि सार्वजनिक गीत र टिजर संगै हालसाल मात्र सार्बजनिक भएको ट्रेलरलाई दर्शकले प्रेम देखाईरहेका छन्। सामाजिक संजालमा चलचित्रका गीतका क्लिपहरु भाइरल रहेका छन्। केहि समय अगाडी सार्वजनिक गीत ‘बेला बितेसी’ बोलको गीत र ढाका टोपी शिरैमा बोलको गीतलाई नेपाली दर्शकहरुले अत्त्यधिक रुचाएको छ भने रील्स देखि टिकटक जस्तो सामजिक सनाजाल्मा लाखौ भिडियो बनेका छन्।हालसाल मात्र सार्वजनिक भएको ट्रेलरले भने दर्शकमाझ हाँसो, रमाइलो र परिवारमै हेर्ने खालको फिल्म हुने विश्वास दिलाएको छ।

सफलताको उच्च अपेक्षा
हरिबहादुर पात्रप्रति दर्शकको आत्मीयता, दशैंको पारिवारिक माहोल, प्रचार सामग्रीमा पाएको माया र अमेरिकाजस्तो ठूलो बजारमा हुने बिस्तृत प्रदर्शनलाई हेर्दा ‘हरिबहादुरको जुत्ता’ सफल हुनुमा कुनै दुइमत छैन भन्ने अड्कल गर्न सकिन्छ।यसरी, नेपाली चलचित्रमा लामो समयपछि दर्शकलाई पुरानो याद ताजा गराउने र नयाँ प्रस्तुति दिने प्रयास स्वरूप आएको यो चलचित्रले दशैंलाई अझै रमाइलो बनाउन महत्वपूर्ण भूमिका खेल्ने निश्चित देखिन्छ।

फिल्ममा हरिवंश आचार्य मात्र होइन, अन्य चर्चित कलाकारहरूको दमदार अभिनय पनि समावेश गरिएको छ। प्रियंका कार्की प्रहरीको भूमिकामा देखिएकी छिन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपाल लगायतका कलाकारले अभिनय गरेका छन्। बहुचर्चित कलाकारहरूको उपस्थिति स्वयंमा चलचित्रको ठूलो आकर्षण बन्न पुगेको छ। एसएम मोसन पिक्चर्स को ब्यानरमा बनेको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्य ले निर्माण गरेका हुन्। छायांकनमा कृष्ण बहादुर थापा, सम्पादनमा नकुल खड्का र संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत रहेका छन्। स्वरमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाई को योगदान रहेको छ।






















