काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा प्रतिक्षित मानिएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ अब नेपालसँगै अमेरिकामा पनि एकसाथ प्रदर्शन हुने भएको छ। असोज १३ गते (दशैंको फूलपाती) बाट नेपालभर प्रदर्शनमा आउने यो चलचित्र अमेरिकाका ८० भन्दा बढी पर्दामा एकसाथ रिलिज हुने तयारी अन्तिम चरणमा पुगेको छ।अमेरिकामा चलचित्रको वितरण आहाना पौडेलले गर्दैछन्। यो उनको चलचित्र वितरण क्षेत्रमा पहिलो पाइला (डेब्यु) हो। आहाना नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन् र हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका छन्। उनले निर्माण टिमसँगको सहकार्यमा ‘हरिबहादुरको जुत्ता’लाई त्यहाँको बक्स अफिसमा ठूलो स्केलमा रिलिज गर्ने घोषणा गरिसकेका छन्। उनका अनुसार चलचित्रको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसी मार्फत यो प्रोजेक्ट अघि बढाइएको हो।
चलचित्र अमेरिकामा टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका थुप्रै राज्य र सहरमा एकसाथ प्रदर्शन हुनेछ।त्यसका लागि त्यहाँका सिनेमार्क (Cinemark), सिनेपोलिस (Cinepolis), रेगल सिनेमाज (Regal Cinemas), मार्कस सिनेमाज (Marcus Cinemas) र एप्पल सिनेमाज (Apple Cinemas) जस्ता प्रमुख मल्टिप्लेक्स चेनहरूसँग आवश्यक तयारी पूरा गरिएको जानकारी आहानाले दिएका छन्।चलचित्रको निर्माण सरोज ओली र मोहितवंश आचार्यले गरेका हुन् भने निर्देशनमा पछिल्लो पुस्ताका चर्चित निर्देशक दिपेन्द्र के. खनाल रहेका छन्। दिपेन्द्र ‘पशुपति प्रसाद’देखि ‘चपली हाइट २’ र ‘ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका कारण ‘हरिबहादुरको जुत्ता’ प्रति दर्शकको उत्साह थपिएको छ।
चलचित्रमा नेपाली हाँस्यव्यंग्यका हस्ती हरिवंश आचार्य मुख्य भूमिकामा रहेका छन्। उनीसँगै प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका चर्चित कलाकारको अभिनय रहेको छ।
रिलिज मिति नजिकिँदै गर्दा चलचित्रप्रतिको माग नेपालमै मात्र नभई अमेरिका र अन्य देशमा पनि उग्र रूपमा देखिएको निर्माण टिमले जनाएको छ। खासगरी अमेरिकामा ८० पर्दाको ठूलो स्क्रिन काउन्ट पाउनु नेपाली चलचित्रका लागि गर्वको विषय भएको वितरक आहाना पौडेल बताउँछन्।दशैंको अवसरमा परिवारसहित हेर्न सकिने किसिमको मनोरञ्जनात्मक तर भावनात्मक कथावस्तुमा आधारित यो चलचित्र नेपाल र प्रवासमा रहेका नेपाली समुदायलाई नजिक्याउने उद्देश्यले तयार गरिएको निर्माण पक्षले जनाएको छ। नेपाल र अमेरिकामा एकसाथ ठुलो स्तरमा प्रदर्शन हुँदै गरेको यो चलचित्रले नेपाली बक्स अफिसमा कस्तो परिणाम ल्याउँछ भन्ने उत्सुकता भने सर्वत्र बढेको छ।






















