काठमाडौँ । रोहित अधिकारी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘माईतीघर’ यतिबेला चर्चाको शिखरमा छ। हालै सार्वजनिक भएको चलचित्रको शीर्ष गीतले दर्शकमाझ ठूलो चर्चा बटुल्दै फिल्मको प्रतिक्षा अझै चुलिएको छ। यसैबीच चलचित्रको ट्रेलर भोलि (असोज २ गते, बिहीबार) सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ । चलचित्र दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउने पक्का भइसकेको छ। यसैबीच निर्देशक मिलन तामाङले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका शब्दले दर्शक तथा फिल्मप्रेमीहरूलाई भावविह्वल बनाएको छ।

निर्देशक तामाङको भावुक शब्द
निर्देशक तामाङले फिल्मलाई अमर सहिद र Gen Z आन्दोलनका घाइते युवाहरूप्रति श्रद्धाञ्जली र शुभकामना सहित समर्पण गरेका छन्। उनले लेखेका छन्:सुन्दर र सृष्टिको अमूल्य उपहार जीवन यति धेरै ठूलो बलिदान र योगदान दिएर Gen Z मा ज्यान गुमाउनु भएका सम्पूर्ण अमर सहिदहरू प्रति हाम्रो चलचित्र माईतीघर को तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। घाइते भएर हस्पिटलमा उपचारमा रहेका सम्पूर्ण Gen Z युवाहरूलाई स्वास्थ्य लाभको कामना गर्दछौं।”बाँच्नु र भोको पेट पाल्नुको निम्ति आफुले जानेको, सकेको कर्म गर्नु नै पर्छ। त्यसैले हामीले भोलि असोज २ गतेदेखि चलचित्र माईतीघर को ट्रेलर सार्वजनिक गर्दैछौं। असोज १३ गतेदेखि सम्पूर्ण हलहरूमा हाम्रो माईतीघर कलाकार टिम आउँदैछ, हजुरहरूसँग भेटेर दुख–सुख साट्न चाहन्छौं। हाम्रो माईतीघर असाध्यै राम्रो बनेको छ। जय नेपाली सिनेमा।”
चलचित्रको टाइटल गीतमा कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। गीतमा लोकेशन छनोटदेखि दृश्यको सौन्दर्यसम्मले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।गीत सार्वजनिकसँगै निर्माण पक्षले दर्शकलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्य स्वरूप विशेष भिडियो प्रतियोगिताको पनि घोषणा गरेको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो निर्माण गरी पठाउने सहभागीहरूमध्ये एक जना उत्कृष्टलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीले बताएका छन्। दशैंको माहोलसँगै आउँदै गरेको माईतीघर नेपाली सिनेमा प्रेमीका लागि बहुप्रतिक्षित फिल्ममध्ये एक मानिएको छ। सामाजिक सन्देश, भावनात्मक कथा र बलियो अभिनयसहित प्रस्तुत भएको यो चलचित्रले दर्शकको मन जित्ने विश्वास निर्देशक र निर्माण टिमले व्यक्त गरेका छन्।






















