आगामी भदौ २० गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘रिमै’ ले दोस्रो गीत सार्वजनिक गरेको छ। गायक थानेश्वर गौतम र गायिका शारदा रसाइली को स्वरमा रहेको यस गीतलाई लिरिकल भिडियोको रुपमा सार्वजनिक गरिएको हो। गीतमा गायक गौतमकै संगीत र प्रख्यात कवि श्रवण मुकारुङ को शब्द रहेको छ, जसले गीतलाई गहिरो भावनात्मक उचाइ दिन सफल भएको छ।सार्वजनिक गरिएको भिडियोमा प्रमुख कलाकार दयाहाङ राई र रिश्मा गुरुङ को चल–अचल दृश्य समावेश गरिएको छ। उनीहरूको अभिनय र गीतको लयात्मक प्रस्तुतीकरणले दर्शकमाझ छुट्टै कौतुहलता सिर्जना गरेको छ। यसअघि रिलिज भएका पोस्टर, टिजर र पहिलो गीतले नै दर्शकको मन जितिसकेको अवस्थामा दोस्रो गीतको आगमनले चलचित्रप्रति अझै चासो बढाउने विश्वास लिइएको छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्राली को प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्ट को सहकार्यमा तयार भएको यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको धमाकेदार उपस्थिति रहेको छ। दयाहाङ राई र रिश्मा गुरुङसँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। साथै बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर को पनि सशक्त अभिनय रहनेछ।

चलचित्रको पटकथा प्रख्यात कवि तथा लेखक उपेन्द्र सुब्बा ले लेखेका हुन् भने निर्देशन खिलबहादुर गुरुङ ले गरेका छन्। चलचित्रका दृश्यहरू खिच्ने जिम्मेवारी अनुभवी सिनेमाटोग्राफर शैलेन्द्र ध्वज कार्की ले सम्हालेका छन्। चलचित्रका कार्यकारी निर्माता वीरबल घले हुन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता र बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेका छन्।
सांगीतिक, साहित्यिक र चलचित्रकर्मीहरूको यस्तो सशक्त टोलीले प्रस्तुत गरेको चलचित्र ‘रिमै’लाई नेपाली चलचित्र क्षेत्रको एउटा महत्वपूर्ण कोशेढुंगा मानिएको छ। फिल्मले मनोरञ्जनसँगै जीवन, सम्बन्ध र समाजका गहिरा विषयवस्तु उठान गर्ने अपेक्षा गरिएको छ।






















