आगामी दशैँलाई लक्षित गर्दै नेपाली फिल्म उद्योगले दर्शकलाई ठूलो उपहार दिने तयारी गरेको छ। बहुप्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक भएसँगै चलचित्र चर्चाको शीर्षस्थानमा पुगेको छ।यसअघि टेलिभिजन सिरियलमार्फत चर्चित बनेको हरिबहादुर पात्रलाई दर्शकले हास्यकलाकार, चोर र ठगको रूपमा मात्रै चिनेका थिए। तर निर्देशक दीपेन्द्र के. खनाल ले यस पटक हरिबहादुरलाई नयाँ र फरक ढङ्गले प्रस्तुत गरेका छन्। सार्वजनिक टिजरले देखाउँछ—सधैं अरुलाई रुवाउने, ठग्ने र छल्ने हरिबहादुर अब आफ्नै जीवनका पीडाले पनि रुने अवस्थामा पुगेका छन्। यसले चलचित्रलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक यात्रासँग जोड्ने संकेत गरेको छ।
फिल्मको टिजरमा हाँसो, रमाइलो र हल्का व्यङ्ग्य मात्र होइन, आँसु र करुणाले भरिएका क्षणहरू पनि देख्न सकिन्छ। हरिबहादुर (हरिवंश आचार्य) ले यस पटक दर्शकलाई आफ्नै जीवनकथा सुनाउनेछन् भन्ने आभास टिजरले दिएको छ। दर्शकलाई प्रिय भइसकेको यो पात्रलाई पर्दामा नयाँ ढंगले हेर्न पाउने अवसर फिल्मले दिने अपेक्षा गरिएको छ।फिल्ममा हरिवंश आचार्य मात्र होइन, अन्य चर्चित कलाकारहरूको दमदार अभिनय पनि समावेश गरिएको छ। प्रियंका कार्की प्रहरीको भूमिकामा देखिएकी छिन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपाल लगायतका कलाकारले अभिनय गरेका छन्। बहुचर्चित कलाकारहरूको उपस्थिति स्वयंमा चलचित्रको ठूलो आकर्षण बन्न पुगेको छ।
एसएम मोसन पिक्चर्स को ब्यानरमा बनेको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्य ले निर्माण गरेका हुन्। छायांकनमा कृष्ण बहादुर थापा, सम्पादनमा नकुल खड्का र संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत रहेका छन्। स्वरमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाई को योगदान रहेको छ।फिल्म असोज १३ गते (दशैँको फूलपाती) देखि देशभर प्रदर्शनमा आउँदैछ। पारिवारिक मनोरञ्जन, हाँसो, रमाइलो र जीवनका भावनात्मक उतारचढाव सबैलाई एकैसाथ समेट्ने वाचा गर्दै टिमले चलचित्र सार्वजनिक गर्ने तयारी गरेको हो।नेपाली दर्शकका लागि हरिबहादुर नाम आफैंमा ठूलो ब्रान्ड हो। यसपटक फिल्मले पुरानो हास्य पात्रलाई नयाँ जीवनयात्रासँग जोड्दै दर्शकलाई हसाउने मात्र नभई रुवाउने पनि संकेत दिएको छ। दशैँमा परिवारसहित हल जाने दर्शकका लागि यो फिल्मले विशेष आकर्षण र भावनात्मक यात्रा दिने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।






















