काठमाडौं । नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले प्रदर्शनको ५० औं दिन पुरा गरेको छ । असार २७ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको यस चलचित्रले लगातार ५० दिनसम्म दर्शकलाई हलसम्म तान्न सफल भएको हो । ५०औं दिनसम्म आइपुग्दा पनि दर्शकको आकर्षण झन् बढ्दै गएको यस चलचित्रले ५१ दिन मनाउने विशेष तयारी गरेको छ।अस्टनारायण सिनेमा हलमा दर्शकको उपस्थिति बीच आफ्नो ५० दिन पुरा गरेको यो चलचित्रले आगामी दिनमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रममा चलचित्रका कलाकारहरूसँगै विभिन्न चर्चित कलाकार, पत्रकार तथा समाजका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिनेछ ।चलचित्रले नेपालमा मात्र होइन, नेपालबाहिरका मुलुकहरूमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । विशेषगरी अमेरिका लगायतका देशहरूमा चलचित्र प्रदर्शनपश्चात् दर्शकहरूले निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रशंसनीय प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ युवा पुस्तादेखि सबै उमेर समूहले हेर्नुपर्ने चलचित्र बनेको प्रतिक्रियाहरु आएका छन्।
फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङको दमदार अभिनय देख्न पाइन्छ । इश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् भने कथा तथा निर्देशन मित्र प्रधान नरले गरेका हुन् । चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।५० दिनभन्दा बढी समयसम्म लगातार प्रदर्शनमा रहनु आफैंमा नेपाली चलचित्र क्षेत्रको लागि खुशीको विषय बनेको छ । दर्शकको साथ र माया पाएर लामो प्रदर्शनमा टिक्न सफल यो चलचित्रले आगामी दिनमा अझै नयाँ कीर्तिमान बनाउन सक्ने अपेक्षा गरिएको छ।






















