काठमाडौं – हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले आफ्नो पहिलो फिचर फिल्म निर्देशनको सुरुवात गरेका छन्। उनले निर्देशन गर्ने फिल्म ‘गोबर गणेश’ मंगलबार राजधानीको म्हेपीस्थित मन्दिर परिसरमा विशेष कार्यक्रमकाबीच शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तसँगै फिल्मको छायांकन औपचारिक रूपमा सुरु भएको शुभमुहूर्त कार्यक्रममा फिल्मका निर्देशक श्रेष्ठसँगै प्रमुख कलाकारहरूको बाक्लो उपस्थिति थियो। कलाकार केदार घिमिरे (माग्ने बुढा)ले परम्पराअनुसार क्यामेराको पूजा गरी नरिवल फुटाउँदै पहिलो सट दिएका थिए। त्यस्तै, चर्चित अभिनेता रवि गिरीले क्लाप दिएर छायांकन प्रारम्भ गरिएको थियो।

निर्देशक श्रेष्ठका अनुसार चलचित्रको छायांकन काठमाडौँबाट सुरु भई पोखरालगायतका रमणीय स्थलहरूमा गरिनेछ। करिब ३५ दिनको सेड्युलमा सुटिङ सक्ने तयारी गरिएको उनले जानकारी दिए।मरिचमान श्रेष्ठ आफैं लोकप्रिय हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’ बाट ‘बल्छी धुर्बे’ को नामले घरघरमा चिनिएका कलाकार हुन्। पछिल्लो समय उनले टेलिचलचित्र निर्देशनमा समेत हात हालेका थिए। उनले निर्देशन गरेका ‘हल्का रमाइलो’‘जुठे’ जस्ता टेलिश्रृंखला दर्शकमाझ निकै चर्चित बनेका थिए।

तर, योचोटि भने उनी पहिलो पटक ठूलो पर्दाको निर्देशकका रूपमा फिल्म ‘गोबर गणेश’ लिएर आएका छन्। यसलाई उनले आफ्नो करियरको महत्वपूर्ण मोडका रूपमा लिएका छन्। शुभमुहूर्त कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले दर्शकलाई नयाँ स्वाद दिन फिल्मको कथा, प्रस्तुति र अभिनय शैलीमा फरकपन ल्याउन खोजिएको बताए।फिल्ममा केदार घिमिरे, रवि गिरीसहित हास्य विधामा रुचाइएका कलाकारहरूको अभिनय रहनेछ। यद्यपि, सम्पूर्ण कलाकारको आधिकारिक सूची भने छायांकनको क्रममा सार्वजनिक गरिने भएको छ।फिल्मका निर्माताहरूले ‘गोबर गणेश’ लाई मनोरञ्जनसँगै सामाजिक सन्देश दिने उद्देश्यले तयार पारिने बताएका छन्। दर्शकलाई हसाँउदै सोच्न बाध्य पार्ने कथावस्तु रहने उनीहरूको दाबी छ।यससँगै नेपाली चलचित्र क्षेत्रमा हास्यकलाकारबाट निर्देशकको नयाँ यात्रा सुरु भएको छ, जसले दर्शकमाझ कस्तो छाप छोड्छ भन्ने प्रतिक्षा भने दर्शकले गर्नेछन्।

तपाईको प्रतिक्रिया