हरितालिका तीज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीजका गीतहरूको रमाइलो माहोल झन् चहलपहलपूर्ण बन्दै गएको छ। हिन्दु नारीहरूको महान् पर्व तीजको उल्लासले कलाकार समुदायलाई झ्याप्पै समेटेको यस अवसरलाई विशेष बनाउन विभिन्न गायक–गायिकाले आफ्ना नयाँ सिर्जनाहरू सार्वजनिक गरिरहेका छन्। यसै क्रममा लोकप्रिय गायिका तृप्ति खड्का गुरुङ्गको स्वरमा नयाँ तीज गीत ‘आजको बेला’ सार्वजनिक भएको छ।
गीतमा गायिका तृप्ति खड्का गुरुङ्गलाई विजय गुरुङले स्वरमा साथ दिएका छन्। शब्द तथा संगीत बसन्त रयाछेत्रीको रहेको यस गीतलाई नरेश पाण्डेले एरेञ्ज गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ पनि उहाँकै हातमा पूरा गरिएको हो। रेकर्डिङ कार्य भने काठमाडौँस्थित सारेगम स्टुडियोमा सम्पन्न गरिएको छ।यस गीतमा दिदीबहिनीबीचको हार्दिक सम्बन्ध, एकआपसमा हुने सद्भाव, र भगवानसँगको प्रार्थना–कामनालाई विशेष गरी समेटिएको छ। गीतका शब्दहरूले नारीहरूको साझा भावना, संस्कार र संस्कृतिलाई जोडेको पाइन्छ। निर्माण टिमले यस गीतले श्रोतामाझ राम्रो चर्चा र माया पाउने विश्वास लिएको छ।
गीतलाई अझ प्रभावकारी बनाउन निर्देशक विजय गुरुङले निर्देशन गरेका छन्। भिडियोमा विजय गुरुङ आफैंसँगै मिस पबी र स्मारिका ढकालको आकर्षक अभिनय देख्न सकिन्छ। त्यस्तै भिडियोमा नृत्य प्रदर्शनसमेत समावेश गरिएको छ जसले गीतलाई अझ रमाइलो र जीवन्त बनाएको छ।भिडियोको छायांकन प्रकाश खड्का तथा टोलले गरेका हुन् भने सम्पादन र रङ संयोजनको जिम्मा मिलन विश्वकर्माले सम्हालेका छन्। सुन्दर दृश्यांकन र रंग संयोजनले गीतलाई आधुनिक तथा आकर्षक प्रस्तुतीकरण दिएको छ।कलाकार तथा निर्माण पक्षले नेपाली संगीत क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल भएकी गायिका तृप्ति खड्का गुरुङ्गको यो नयाँ गीतले पनि दर्शक–श्रोताबाट उत्तिकै माया पाउनेमा ढुक्क रहेको बताएका छन्।






















