फिल्म ‘बलिदान’ हालको समयमा नेपाली चलचित्र उद्योगको सबैभन्दा प्रतिक्षित चलचित्र मध्ये एक बनेको छ। सन्तोष सेनको निर्देशनमा तयार यो चलचित्र देशभक्ति, न्याय र विद्रोहको भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको देखिन्छ।टिजर सार्वजनिक भएलगत्तै यसले दर्शकको मनमा गहिरो छाप पारेको छ। टिजरको प्रारम्भमै देश संकटमा परेको अनुभूति गराइन्छ, जसमा सौगात मल्लको दृढ अवतार, हेमन्त बुढाथोकीको राजसी प्रस्तुति, अर्पण थापाको राजनीतिक भूमिकादेखि ऋचा शर्माको भावनात्मक संवादले कथावस्तुलाई उचालिदिएको छ।
विशेष गरी ऋचा शर्माले बोलेको – निर्दोष मारिँदा मौन बस्ने समाजलाई प्रश्न गर्ने संवाद – दर्शकको हृदय छोएको छ। त्यसैगरी निर्देशक सेन स्वयं आदिवासी पात्रमा देखिनु पनि दर्शकका लागि आकर्षण बनेको छ।
समीर भट्टलाई टिजरमा ‘एक्सन किङ’ को परिचय दिइएको छ, जहाँ उनको शक्तिशाली संवाद र दमदार एक्सनले कथाको मुख्य ऊर्जा झल्काएको छ। उनले प्रस्तुत गरेको आमा र मातृभूमिप्रतिको गहिरो भावनाले चलचित्रलाई अझै सबल बनाएको छ।निर्देशक सेनका अनुसार, ‘बलिदान’ केवल चलचित्र मात्र नभई नेपाली जनताको आवाज र विद्रोहको प्रतीक हो। उनी भन्छन्, “तीन वर्षको रगत पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ अब केवल चलचित्र होइन, यो न्यायको विस्फोट हो।”
यसअघि सार्वजनिक गरिएको प्रि-टिजरले युट्युब ट्रेन्डिङमा स्थान पाइसकेको थियो भने प्रचार अभियानलाई देशव्यापी रुपमा फैलाउन ‘बलिदान ब्यानर’ अभियान सञ्चालन गरिएको छ।फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको दमदार अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरीका अनुसार, यो चलचित्र फूलपातीको दिन, बडादसैँमा प्रदर्शनमा आउनेछ।






















