गायिका लक्ष्मी मल्लको सुमधुर आवाजमा सजिएको नयाँ तीज गीत ‘तिजका गीत कस्ता हुन्थे सुन’ सार्वजनिक भएको केही दिनमै चर्चाको शिखरमा पुगेको छ। गीतले प्रकाशन भएको छोटो अवधिमै ११ लाखभन्दा बढी पटक हेरिएको छ, जसले यसलाई अहिलेको तीज गीत संगीतको प्रमुख आकर्षण बनाएको छ। गीतका शब्द तथा संगीतकार श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्ल हाल सांगीतिक कार्यक्रममा सहभागी हुन अस्ट्रेलियामा रहेका छन्, तर यता नेपालमा भने यो गीत दिन प्रतिदिन लोकप्रिय हुँदै गएको छ। गीतको भिडियोमा करिश्मा ढकाल, मेलिना शाह, एरोना मल्ल र वरिष्ठ कलाकार मिथिला शर्माको दमदार अभिनय रहेको छ।
सङ्गीत संयोजनमा रामेश सेन्चुरी, निर्देशनमा शङ्कर बीसी, छायांकनमा दुर्गा पौडेल तथा टिम, र सम्पादनमा मिलन विश्वकर्माको योगदान रहेको छ। सम्पूर्ण टिमको समर्पण र कलात्मक प्रस्तुतिका कारण गीतले श्रोतामाझ गहिरो प्रभाव पारेको छ |यो तीज गीतको विशेषता भनेको यसले पछिल्लो समय तीज गीत संगीतमा देखिएको छाडापन र विकृतिबारे सचेतना फैलाउनु हो। गीतमार्फत कलाकारहरूले तीजको मौलिकता र अर्घ्यानिकपन जोगाउनुपर्ने सन्देश दिएका छन्। तीजजस्तो हाम्रो मौलिक चाडमा छाडा र भड्किला शैलीको प्रदर्शन नगरी, सांस्कृतिक परम्परा र मूल्यलाई जोगाउँदै रमाइलो गर्नुपर्ने चेतावनी गीतमा सशक्त रूपमा प्रस्तुत गरिएको छ।
श्रीकृष्ण बम मल्लका अनुसार, “तीज गीत भनेको हाम्रो संस्कृतिको सुगन्ध बोकेको, परिवार र समाजलाई जोड्ने माध्यम हो। यसलाई विकृत गर्ने प्रवृत्ति रोक्नुपर्छ।” गायिका लक्ष्मी मल्लले पनि गीतमार्फत महिला सशक्तिकरणसँगै नेपाली संस्कृतिको संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको बताएकी छन्। श्रोताहरूले यो गीतलाई केवल मनोरञ्जनका लागि मात्र नभई सांस्कृतिक सन्देश बोकेको कलाकृतिका रूपमा स्वीकार गरेका छन्। यसले पुराना तीज गीतहरूको भाका, शब्दको शुद्धता, र पारिवारिक उल्लासलाई पुनः स्मरण गराएको छ।






















