ईलमपोखरी समाज यूकेको वार्षिक समर भेटघाट भव्य रूपमा सम्पन्न भएको छ ।उक्त कार्यक्रम १४ जून, शनिबारका दिन अल्डरसटस्थित अल्डरउड लेजर सेन्टरमा भएको हो । कार्यक्रमको प्रमुख आतिथ्य लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ रहेका थिए ।

सुरुमा खेलकुद कार्यक्रम भएको थियो । समाजका सल्लाहकार रुद्र गुरुङको संयोजनमा भएको खेलकुदमा वयस्क, युवा र १२ वर्षमुनिका युवाको सहभागिता थियो । महिलाका लागि भने सहसचिव कुमार गुरुङको संयोजनमा रमाइलो फन गेम आयोजना गरिएको थियो । खेलकुद कार्यक्रम सम्पन्न भएपछि औपचारिक कार्यक्रम सुरु भयो, जसको सञ्चालन समाजका सचिव प्रकाश गुरुङले गरेका थिए । प्रारम्भमा सहसचिव कुमार गुरुङले सुरक्षासम्बन्धी जानकारी गराए । प्रमुख अतिथि पूर्णराज गुरुङ, अध्यक्ष परशु गुरुङ, विशिष्ट अतिथि लमजुङ समाज यूकेकी आमा समूह अध्यक्ष तारा गुरुङ, क्याप्टेन रिटायर्ड रणबहादुर गुरुङ र संस्थापक अध्यक्ष मोहनसिंह गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए । त्यसपछि नेपाल तथा बेलायतको राष्ट्रिय धुन बजाइए लगत्तै उपाध्यक्ष बुद्धिराम गुरुङले स्वागत मन्तव्य राखे ।

खेलकुदका विजेतालाई प्रायोजकहरूको सहयोगमा पुरस्कार वितरण गरिएको थियो । समाजमा हालै आबद्ध भएका सदस्यलाई अध्यक्ष परशु गुरुङले खादा लगाएर स्वागत गरे ।अन्य विभिन्न संघसंस्थामा अध्यक्ष पदमा रही सफल कार्यकाल सम्पन्न गरेका दलबहादुर गुरुङ (लमजुङ समाज यूके), रुद्र गुरुङ (रेडिङ तमु समाज यूके), पदम गुरुङ (तमु कलाकार सांस्कृतिक मञ्च यूके) र माला घले (लमजुङ समाज यूके आमा समूह) लाईसमेत अध्यक्ष परशु गुरुङ र धर्मपत्नी नन्दा गुरुङले खादा लगाएर सम्मान गरे ।

ilam-pokhari-d-(3)-1750068454.jpg
लमजुङ समाज यूकेको सातौँ कार्यसमितिमा चयन भएका ईलमपोखरी समाजका सदस्यलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्णराज गुरुङ, उनकी धर्मपत्नी जमुना गुरुङ, आमा समूह अध्यक्ष तारा गुरुङ, हालै क्याप्टेन पदमा पदोन्नति भएका गणेश गुरुङ क्यूओजीएलआर र उनकी धर्मपत्नीलाई विशेष सम्मानसाथ पगरी, खादा र पुष्पगुच्छा अर्पण गरिएको थियो ।नेपालबाट आएका अतिथि कलाकार अनुपा मगर र आश्रम गुरुङलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो । साथै, गोरखा किचनका प्रोप्राइटर भीम गुरुङलाई समाजलाई निरन्तर सहयोग गर्दै आएको कदरस्वरूप खादा र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो। गोरखा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु गुरुङलाई पनि सम्मान गरिएको थियो ।  कार्यक्रमको अन्तिममा सांस्कृतिक सचिव गजबहादुर गुरुङको संयोजनमा बाह्रमासे घाँटु, स्थानीय नानीहरूको नृत्य र वयोवृद्ध नौराज गुरुङको खुकुरी नाच प्रस्तुत गरिएको थियो । अतिथि कलाकार अनुपा मगर र आश्रम गुरुङको जीवन्त सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शकहरू नाचेका थिए । अन्त्यमा अध्यक्षले सहयोगी, अतिथि, आयोजक, प्रायोजक र सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे । कार्यक्रम बिहान १२ बजे सुरु भई राति ११ बजे समापन भएको थियो ।

तपाईको प्रतिक्रिया