बिहीबारबाट स्वदेश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ । गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म बिहीबार रहेको राजावादी र नेकपा एमालेको प्रदर्शन लगायत विभिन्न कारणले स्थगित गरिएको हो ।प्रदर्शन स्थगित भएपछि के हुन्छ ‘महाभोज’ अग्रिम बुकिङको रकम ? .
निर्माण युनिटले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरेको थियो । फिल्मको प्रदर्शन स्थगित गर्नु अगाडि नै फिल्मको टिकट बुकिङ खुलिसकेको थियो भने केही टिकट समेत बिक्री भैसकेको थियो । तर फिल्मको प्रदर्शन स्थगित भए पनि बिक्री भएका टिकट के हुन्छ ? दर्शकमा अन्योल रहेको छ ।
चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन फिल्मको प्रदर्शन स्थगित भएको अवस्थामा बिक्री भएको टिकट फिर्ता हुने बताउँछन् । ‘फिल्मको टिकट खल्तीबाट काटिएको भए, त्यहीबाट फिर्ता हुन्छ’, महर्जन भन्छन् ‘अन्यबाट कटिएको पनि फिर्ता हुन्छ ।’
फिल्मको रिलिज स्थगित भएपछि देशभरका हलले शोज समेत हटाएका छन् । दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी पीडितको मुद्दामा बनेको फिल्म हो । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली लगायत कलाकारको अभिनय छ ।

 

तपाईको प्रतिक्रिया