तिहार पर्वको उल्लासपूर्ण आगमनसँगै नेपाली सुगम सङ्गीतको आँगनमा मौलिकताको रक्षा एवं परम्परागत संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ तथा उत्कृष्ट देउसी भैलो गीत ‘मौलिक देउसी भैलो’ सार्वजनिक गरिएको छ। चाडपर्वको यो विशेष अवसरमा ‘अमृता लुङ्गेली मगर अफिसियल’ युट्युब च्यानलबाट यस गीतको अडियो र भिडियो संस्करण एकसाथ प्रकाशन गरिएको हो।हाम्रो लोकसंस्कृति र परम्परागत लयलाई जीवन्त राख्न यस देउसी भैलो गीतमा नेपाली लोकसङ्गीतका ६ जना चर्चित तथा दिग्गज कलाकारहरूले आफ्नो सशक्त स्वर दिएका छन्।
गीतमा लोकप्रिय गायक-गायिकाद्वय राजु परियार, सरोज विरही कार्की, घमेश दुलाल, अमृता लुङ्गेली, सीता थापा र राधिका हमालको सुमधुर र जोसिलो स्वर सुन्न सकिन्छ। गीतका सम्पूर्ण शब्द, सङ्गीत र एरेन्जको जिम्मेवारी चर्चित सङ्गीतकार सरोज विरही कार्कीले स्वयम् सम्हाल्नुभएको छ।गीतको साङ्गीतिक पाटोलाई उत्तिकै आकर्षक बनाइएको छ। अडियोतर्फ मिक्सिङ तथा मास्टरिङको काम मनोज परियारले गर्नुभएको छ भने यसको रेकर्डिङ ‘स्टुडियो एचडी आफ्नो मन’ मा सम्पन्न गरिएको हो।त्यस्तै, भिडियो पक्षलाई पनि निकै रमाइलो र आकर्षक ढङ्गले तयार पारिएको छ। खगेन्द्र गिरीको निर्देशनमा बनेको यस भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने र अमिस उपरकोटीको सुन्दर अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियोको सिनेमेटोग्राफीको दायित्व केशव विश्वकर्माले कुशलतापूर्वक निर्वाह गर्नुभएको छ।
संस्कृति जगेर्नामा महत्त्वपूर्ण कोसेली
पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभाव बढिरहेको बेला चाडपर्वको अवसरमा नेपाली संस्कृति, परम्परा र सामूहिक भावनालाई जगेर्ना गर्न यो गीतले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास निर्माण पक्षले लिएको छ। तिहारको रमाइलोमा घर-आँगनमा गुन्जिने यो मौलिक देउसी भैलो गीतले दर्शक-श्रोताबाट भरपूर माया पाउने अपेक्षा गरिएको छ।






















