काठमाडौँ। नेपाल, भुटान र भारतको संयुक्त सहकार्यमा निर्माण भएको बहुप्रतीक्षित डिजास्टर जनराको सिनेमा ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित एक भव्य कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित यस चलचित्रमा जलविद्युत् सुरुङभित्र हुने दुर्घटना र त्यसपछि उत्पन्न हुने भयानक सङ्कटको कथालाई प्रस्तुत गरिएको छ। चलचित्रको प्रामाणिकता कायम राख्न मुख्य दृश्यहरू वास्तविक सुरुङभित्रै छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ। करिब १०० दिन लगाएर छायाङ्कन गरिएको यस चलचित्र आगामी असोज २३ गते (अक्टोबर ९) देखि नेपाल र भुटानमा एकसाथ प्रदर्शन हुँदैछ।
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै मुख्य कलाकार तथा निर्माता सङ्गे छेल्ट्रिमले नेपालमा हालै आएको विनाशकारी बाढीपहिरो र त्यसबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उनले मानवीयताको नाताले सिनेमाको कुल आम्दानीको २५ प्रतिशत अर्थात् आफ्नो सेयरको ५० प्रतिशत रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने घोषणा गरे।
कार्यक्रममा नेपाली सुपरस्टार प्रदीप खड्काले आफू यस चलचित्रमा कलाकारका रूपमा नभई ‘क्रिएटिभ प्रोड्युसर’ का रूपमा मात्र जोडिएको स्पष्ट पारे। त्यस्तै, निर्माता निर्वाण चौधरीले नेपाल र भुटानबीचको सांस्कृतिक तथा सिनेमाटिक सहकार्यमा यति ठूलो प्रोजेक्ट निर्माण गर्न पाउँदा खुसी व्यक्त गरे।
डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको यस चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो लगायतका नेपाली तथा भुटानी कलाकारहरूको सशक्त अभिनय रहेको छ। नेपाल र भुटानमा रिलिज भएपछि चलचित्रलाई एसिया, उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गर्ने तयारी छ।






















