अछामको पर्यटकीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण लुङ्ग्रा पुडेसैनमा जन्मिएका चन्द्र राज पाण्डे (सी.आर. पाण्डे) बहुप्रतिभाका धनी व्यक्तित्व हुन्। उनी एक कुशल गीतकार, सङ्गीतकार, गायक हुनुका साथै नेपाल सरकारका निजामती कर्मचारी (कम्प्युटर अपरेटर) समेत हुन्। एउटा साधारण किसान परिवारमा हुर्किँदै गर्दा बाल्यकालदेखि नै गीत-सङ्गीतमा औधी रुचि राख्ने पाण्डेले सानैमा अनेकौँ धुनहरू गुन्गुनाउने र शब्दहरू कोर्ने गर्थे। तर, गाउँको आर्थिक अभाव र पारिवारिक परिस्थितिका कारण सङ्गीतको सपनालाई केही समयका लागि थाती राखेर उनी उज्ज्वल भविष्यको खोजीमा छिमेकी मुलुक भारततर्फ लागे। भारतको नयाँ दिल्लीमा करिब ६-७ वर्ष कडा परिश्रम र नोकरी गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिए। निरन्तरको लगनशीलता र कठोर सङ्घर्षपछि उच्च शिक्षा पूरा गरी उनी स्वदेश फर्किए। नेपाल फर्किएलगत्तै लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी कम्प्युटर अपरेटर पदमा नाम निकाल्न सफल भएका पाण्डे हाल नेपाल सरकारको निजामती सेवामा कार्यरत छन्।

 

सरकारी सेवाको व्यस्तताका बाबजुद पनि उहाँभित्र रहेको सङ्गीतप्रतिको तीव्र लगाव र भोक मरेको थिएन। केही समयअघि आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘त्यो दिल दियौ कस्लाई’ नामक गीत सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा औपचारिक प्रवेश गरेका उनले त्यसपछि एकपछि अर्को उत्कृष्ट सिर्जना पस्कँदै आएका छन्। यसैबीच, हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा पाण्डेले आफ्नो आधिकारिक युट्युब च्यानल ‘CR’ बाट नयाँ मौलिक तीज गीत ‘यो तीजमा नाच्ने हो – तीजको सारी’ सार्वजनिक गरेका छन्। गायिका मनिषा पोखरेलको मिठासपूर्ण स्वरमा सजिएको यस गीतमा सर्जक सी.आर. पाण्डेकै शब्द तथा सङ्गीत रहेको छ भने गीतको निर्माण तथा लगानी पनि उनकै रहेको छ। तीजको सांस्कृतिक र मौलिक रमाइलोलाई लक्षित गरी बजारमा ल्याइएको यो गीत सार्वजनिक भएको छोटो समयमै श्रोता तथा दर्शकको मन जित्न सफल भएको छ। भद्दा र विकृत शब्दहरूको बाहुल्य भइरहेको वर्तमान समयमा यस गीतले मौलिकपन बोकेको भन्दै सामाजिक सञ्जालहरूमा व्यापक प्रशंसा र चर्चा पाइरहेको छ।मिलन मोक्तानको निर्देशनमा तयार भएको दृश्य-भिडियोमा रितीका श्रेष्ठको कोरियोग्राफी रहेको छ। एल.के. सुवास र असित राईको छायाङ्कन तथा अर्जुन खड्काको सम्पादन रहेको भिडियोमा रितीका श्रेष्ठ, रेक्सना घिमिरे, रोजिना धमला, करूना भुजेल, बबिता मगर, मिना तामाङ श्रेष्ठ, करूना राई, सोमराज कार्की, मिना मोक्तान, अनिल तामाङ, ध्रुव पन्थी तथा असित राई लगायतका कलाकारहरूको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ।सङ्घर्षपूर्ण बाल्यकाल, परदेशको अनुभव र निजामती सेवाको जिम्मेवारीलाई समानान्तर रूपमा अघि बढाउँदै नेपाली सुगम तथा लोक-संस्कृतिमा पुर्याएको योगदानले चन्द्र राज पाण्डेलाई एक बहुआयामिक र प्रतिभाशाली सङ्गीत साधकका रूपमा स्थापित गराएको छ।

तपाईको प्रतिक्रिया