काठमाडौँ — हङकङ, काठमाडौँ, पोखरा, चितवन र धादिङ लगायत देश तथा विदेशका विभिन्न स्थानहरूमा सफलताका साथ प्रदर्शन भइसकेको चर्चित गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ अब लमजुङको सुन्दर नगरी बेसीसहरमा प्रदर्शन हुने भएको छ। आगामी भदौ २१ गते बेसीसहरमा यस चलचित्रको विशेष तथा भव्य प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा गरिएको निर्माण पक्षले जनाएको छ।

हालै सम्पन्न प्रतिष्ठित ‘आदिवासी जनजाति चलचित्र महोत्सव’मा उत्कृष्ट गुरुङ चलचित्र र उत्कृष्ट पटकथा गरी दुई महत्त्वपूर्ण विधामा अवार्ड जित्न सफल यस चलचित्रलाई दर्शक तथा समीक्षकहरूले निकै रुचाएका छन्।लमजुङकै माटोमा जन्मिएकी कर्मठ छोरी, समाजसेवी तथा निर्मात्री पशुपति गुरुङको लगानी र निर्माणमा तयार पारिएको यस चलचित्रमा प्रतिभाशाली अभिनेता रामप्रसाद गुरुङको मुख्य नायकका रूपमा जीवन्त र सशक्त अभिनय रहेको छ। यसै चलचित्रमार्फत नायक रामप्रसाद गुरुङले सांगीतिक तथा सिने क्षेत्रमा छुट्टै पहिचान बनाउँदै दर्शकमाझ व्यापक चर्चा र प्रशंसा बटुलेका छन्।आफ्नै जिल्लाकी छोरीले निर्माण गरेको र मौलिक गुरुङ संस्कृति, परम्परा एवं सामाजिक कथावस्तुलाई कलात्मक रूपमा प्रस्तुत गरिएकाले पनि बेसीसहरको प्रदर्शनलाई लमजुङबासीहरूले विशेष उत्सुकताका साथ पर्खिरहेका छन्।गुरुङ समुदायको भाषा, संस्कार र पहिचानलाई उजागर गर्ने ‘ङोल्स्यो रामरानी’को बेसीसहर प्रदर्शनमा स्थानीय दर्शक, संस्कृतिप्रेमी, बुद्धिजीवी तथा विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहने आयोजक पक्षले विश्वास लिएको छ।
फिल्मको कथा बिबेक गुरुङ ले तयार गरेका हुन् भने पटकथा जनक गुरुङले लेखेका छन् । चलचित्रको निर्देशन पनि बिबेक गुरुङले गरेका हुन् । गुरुङ भाषाका चलचित्र क्षेत्रमा बिबेक गुरुङले यसअघि दिएका योगदानलाई दर्शकले रुचाउँदै आएका छन् ।चलचित्रमा राम प्रसाद गुरुङ, विष्णु गुरुङ, सपना गुरुङ, इशा गुरुङ र रेशम गुरुङ लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ ।






















