काठमाडौं — सुदूरपश्चिमको नाट्य यात्राबाट आफ्नो अभिनयको बलियो आधार तयार पारेका सशक्त र प्रतिभाशाली कलाकार हुन्— केशव रिजाल। रंगमञ्चको जीवन्त मञ्चमा आफ्ना हरेक चरित्रलाई न्याय गर्दै दर्शकको मन जित्न सफल रिजाल अब नेपाली चलचित्र क्षेत्रको ठूलो पर्दामा ‘नव-नायक’का रूपमा नयाँ सम्भावना र आशा बोकेर उभिँदैछन्।आफ्नो अभिनयको भोक र निष्ठाका कारण नाटक घरदेखि चलचित्रको पर्दासम्मको यात्रा तय गरेका केशवले ‘कपट’, ‘बेड नं. ९९’, ‘बहुला काजी’, ‘अवान्तर’ र ‘छित्र क्यानभास’ जस्ता निकै चर्चित र समीक्षकद्वारा रुचाइएका नाटकहरूमा सशक्त अभिनय गरिसकेका छन्। यसका साथै, राष्ट्रिय नाचघरको मञ्चमा मञ्चन भएका ‘दर्पण’ र ‘क्षितिज’ लगायत दर्जनाैँ नाटकहरूमा प्रस्तुत गरेको जीवन्त अभिनयले उनलाई एक परिपक्व र भर्सटाइल कलाकारका रूपमा स्थापित गरिसकेको छ। रंगमञ्चमा कमाएको यही लामो र मिहिनेती अनुभवलाई अब उनी ठूलो पर्दामार्फत दर्शकसामु पस्कने तयारीमा छन्।

लज्जावती' का पाँच पोस्टर सार्वजनिक, फिल्म २९ साउनदेखि – Online Khabar

राजबहादुर सानेको निर्देशनमा बनेको बहुप्रतीक्षित चलचित्र ‘लज्जावती’ बाट केशवले मुख्य भूमिकामा डेब्यु गर्दैछन्। पारिवारिक प्रेमकथा र गम्भीर सामाजिक यथार्थलाई मूल विषयवस्तु बनाइएको यस चलचित्रमा केशवको चरित्र निकै जोडदार र चुनौतीपूर्ण रहेको बताइएको छ। चलचित्रमा उनीसँगै स्थापित तथा पाका कलाकारहरू मुकुन भुसाल, मेनुका माझी र श्रीकृष्ण निरौला लगायतका कलाकारहरूको पनि मुख्य अभिनय रहेको छ। अनुभवी र पोख्त कलाकारहरूको टोलीमा रिजालको उपस्थिति र अभिनय कौशलीलाई चलचित्र वृत्तमा निकै कौतुहलता र आशाका साथ हेरिएको छ।

नाट्य पृष्ठभूमिबाट आएका कलाकारहरूले चलचित्र क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्दै आएको इतिहासलाई निरन्तरता दिँदै केशव रिजालले पनि नेपाली सिनेजगत्‌मा लामो र सफल यात्रा तय गर्ने संकेत देखाएका छन्।पारिवारिक तथा सामाजिक कथामा आधारित चलचित्र ‘लज्जावती’ आउँदो २९ साउनदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनको तयारीमा छ। सुदूरपश्चिमको माटो र नाटक घरको मञ्चबाट खारिएर आएका यी उदीयमान नायकको डेब्यु अभिनय हेर्न दर्शकहरू पनि निकै उत्सुक देखिएका छन्।

तपाईको प्रतिक्रिया