काठमाडौं। मगर युथ एसोसिएसन यूके (केन्द्रीय कार्यसमिति)को चौथो कार्यकाल तथा मगर युथ परिवारको पहलमा यूकेबाट संकलित नेपाली रु. ६,३८,१७७ रुपैयाँ ५० पैसा मृगौला पीडितको उपचार सहयोगार्थ नेपाल मगर संघ केन्द्रीय समितिलाई हस्तान्तरण गरिएको छ।नेपाल मगर संघ केन्द्रीय समितिको प्रथम पूर्ण बैठकको अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ गायक, गीतकार तथा संगीतकार दीपक थापा मगर, नेपाल मगर संघकी केन्द्रीय अध्यक्ष रक्षा राइका मगर, पूर्व राष्ट्रिय फुटबल खेलाडी, चर्चित भ्लगर, मोडल तथा कलाकार डोना थापा मगर, दीपक घर्ती मगर, भरत मगर लगायत संघका पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको उपस्थितिमा उक्त रकम औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

यस मानवीय अभियानलाई नेपालमा सफलतापूर्वक सम्पन्न गराउन विशेष भूमिका निर्वाह गर्ने नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तथा ‘नेपाली पहिचान’का सञ्चालक कविराज थापा केप्छाकी मगरप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ। कार्यक्रमका लागि पोस्टर प्रायोजन गरी सहयोग पुर्याउने उहाँको योगदानको समेत उच्च प्रशंसा गरिएको छ।मगर युथ एसोसिएसन यूकेले ‘मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै छैन’ भन्ने भावनालाई आत्मसात् गर्दै सहयोग, एकता र सद्भावको सन्देश फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ। यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोगीहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

कार्यक्रममा सहभागी वरिष्ठ गायक, गीतकार तथा संगीतकार दीपक थापा मगर नेपाली संगीत क्षेत्रका सम्मानित व्यक्तित्व हुन्। “विदेश जाने मायालु तिमीलाई” लगायतका लोकप्रिय गीतमार्फत उनले नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्। स्वदेश तथा विदेशमा रहेका नेपालीमाझ उनको संगीत उत्तिकै लोकप्रिय छ। साथै, मगर युथ एसोसिएसन यूकेले प्रत्येक वर्ष आयोजना गर्ने Magar’s Got Talent कार्यक्रममा समेत उहाँको निरन्तर सहभागिता रहँदै आएको छ। विशेषगरी 6th Magar’s Got Talent मा निर्णायक (Judge) का रूपमा उनको भूमिका उल्लेखनीय रहेको आयोजकले जनाएको छ।




















