काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाले आगामी साउन १ गतेदेखि ट्राफिक नियम तथा कानुनको कार्यान्वयनलाई थप कडाइका साथ अघि बढाउने तयारी गरेको छ। कडा कारबाहीको चरण सुरु गर्नु अघि असार महिनाभर आम सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराउने विशेष सचेतना अभियान सञ्चालन गरिने भएको छ।यस अभियानलाई सफल बनाउन नेपाल–कोरिया उद्यमी व्यवसायी संघ ले निरन्तर सहयोग गर्दै आएको छ। संघले काठमाडौं उपत्यकाका विभिन्न व्यस्त चोक, सडक तथा दुर्घटना सम्भावित क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ।

May be an image of one or more people and text

संघका सदस्यहरू स्वयं सडकमा खटिएर पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्नुका साथै सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गरिरहेका छन्। अभियानका क्रममा उनीहरूले ट्राफिक प्रहरीसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन तथा जनचेतना फैलाउने कार्यमा समेत सहयोग पुर्‍याइरहेका छन्।नेपाल–कोरिया उद्यमी व्यवसायी संघ हाल दुई दशकभन्दा बढी समय दक्षिण कोरियामा बिताएका उद्यमी प्रेमकुमार गुरुङ को संयोजकत्वमा गठित तदर्थ समितिको नेतृत्वमा सञ्चालन भइरहेको छ। संघले कोरियाबाट फर्किएका नेपाली उद्यमी तथा व्यवसायीहरूलाई एकीकृत गर्दै उनीहरूको क्षमता अभिवृद्धि, अनुभव आदान–प्रदान, सामूहिक लगानी प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलताको विकास गर्ने उद्देश्य लिएको छ।संघका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक सचेतना अभियानमा सहभागिता जनाइएको हो। सडक दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासनको विकास तथा सुरक्षित यातायात संस्कृतिको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइएको छ। ट्राफिक प्रहरी र निजी क्षेत्रबीचको सहकार्यले ट्राफिक नियमप्रति नागरिकको सचेतना बढ्नुका साथै सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया