काठमाडौं — गोरखा जिल्ला सिरानचोक गाउँपालिका–जौबारी लाङ्दीमा जन्मिएका गीतकार तथा सर्जक परशुराम थपलियाको हालै सार्वजनिक भएको लोकदोहोरी गीत ‘चल्यो बतास सरर गोरखाको डाँडैमा’ यतिबेला बिस्तारै दर्शक तथा श्रोताको मन जित्दै गएको छ। गोरखाको प्राकृतिक सौन्दर्य, संस्कृति र मौलिक परिवेशलाई समेटेर तयार पारिएको गीतले छोटो समयमै सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको हो।
यसअघि पनि परशुराम थपलियाका ‘हाँस्देऊ बोल्देऊ’, ‘लेकैमा सल्लो’, ‘मेरो परान’ लगायतका गीतहरू श्रोतामाझ लोकप्रिय बनेका थिए। ती गीतहरूले उनलाई लोकसंगीत क्षेत्रमा परिचित सर्जकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।नयाँ गीत ‘चल्यो बतास सरर गोरखाको डाँडैमा’ मा नेपाली लोकसंगीतकी चर्चित गायिका शान्तिश्री परियार र लोकप्रिय गायक चिज गुरुङ को सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा लय स्वयं परशुराम थपलियाकै रहेको छ।गीतको म्युजिक भिडियोमा कलाकार लक्ष्मी गुरुङ र मनोज गुरुङ को अभिनय रहेको छ। उनीहरूको जीवन्त प्रस्तुतीले गीतको भावलाई अझ प्रभावकारी बनाएको दर्शकहरूको प्रतिक्रिया छ।भिडियोको विशेष आकर्षण भनेको गोरखा जिल्लाका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूमा गरिएको छायांकन हो। गोरखाको प्राकृतिक सुन्दरता, पहाडी जीवनशैली र स्थानीय संस्कृतिलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको निर्देशन चर्चित निर्देशक दीप गुरुङ ले गरेका हुन्।लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत परशुराम थपलियाले सुरुवाती दिनहरूमा सुगम संगीतबाट आफ्नो यात्रा थालेका थिए। उनका ‘आँधीसरि तिम्रो माया’, ‘घरबारे रैछौ मायालु’, ‘बदनाम भएँ म तिम्रै कारणले’ लगायतका गीतहरूले पनि राम्रो चर्चा कमाएका थिए। समयसँगै उनले लोक तथा दोहोरी संगीतमा पनि आफ्नो सक्रियता बढाउँदै लगेका छन्।परशुराम थपलियाले आफ्ना सिर्जनालाई निरन्तर माया, साथ र समर्थन गरिदिन सम्पूर्ण दर्शक तथा श्रोतासमक्ष अनुरोध गरेका छन्। उनले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गीतहरू हेर्न, सुन्न र प्रतिक्रिया दिन आग्रह गरेका छन्।गोरखाली माटोको सुगन्ध, मौलिक शब्द, मिठो संगीत र आकर्षक दृश्य संयोजनले सजिएको ‘चल्यो बतास सरर गोरखाको डाँडैमा’ आगामी दिनमा अझ व्यापक रूपमा दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ।
जय गीत, जय संगीत! 🎶🙏





















