काठमाडौं । नेपाली मौलिक कथा, संस्कृति, गाउँघरको परिवेश तथा लाहुरे जीवनको यथार्थ चित्रण गरिएको नेपाली कथानक चलचित्र “पेन्सन पट्टा” आगामी सेप्टेम्बर ११ तारिखदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ। नेपालमा प्रदर्शन आरम्भ भएको भोलिपल्ट अर्थात् सेप्टेम्बर १२, २०२६ मा चलचित्र बेलायतमा पनि विशेष प्रदर्शन गरिने भएको छ।निर्माण पक्षका अनुसार बेलायतको Aldershot स्थित Princes Hall मा चलचित्रको विशेष शो आयोजना गरिएको छ। नेपालमा प्रदर्शनको व्यस्त कार्यतालिकाका कारण चर्चित अभिनेता दयाहाङ्ग राई नेपालमै रहने भए पनि बेलायतमा हुने विशेष प्रदर्शनमा चलचित्रकी प्रमुख कलाकार गौ माया गुरुङ को विशेष उपस्थिति रहने जनाइएको छ।

कास्की जिल्लाको रमणीय पर्यटकीय गाउँ ताङ्तिङ तथा पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको चलचित्रलाई निर्देशक माओत्से गुरुङ स्वयं बेलायत लिएर जाने तयारीमा छन्। नेपाली समाज, कला, संस्कृति तथा विशेषगरी लाहुरे जीवनका यथार्थ पक्षलाई समेटिएको चलचित्रले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।निर्माण पक्षले नेपाली समुदायलाई परिवार, साथीभाइ तथा आफन्तहरूसँग चलचित्र हेरेर नेपाली मौलिक चलचित्रलाई साथ दिन आग्रह गरेको छ। साथै, बेलायतमा हुने प्रदर्शनबाट संकलित रकमको केही हिस्सा सामाजिक तथा च्यारिटी कार्यमा खर्च गरिने जानकारी पनि दिइएको छ।चलचित्र हेर्नका लागि सामान्य हल टिकटको मूल्य २० पाउण्ड तथा भिआईपी टिकटको मूल्य २५ पाउण्ड निर्धारण गरिएको छ।नेपालीपन, संस्कृति र लाहुरे जीवनको भावनात्मक कथालाई पर्दामा उतारेको चलचित्र “पेन्सन पट्टा” ले नेपालसँगै विदेशमा रहेका नेपाली दर्शकमाझ पनि विशेष उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ।





















