काठमाडौं । नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा नयाँ कोसेढुंगाको रूपमा गीत ‘मरेर लानु के छ र बाजा’ सार्वजनिक गरिएको छ। चर्चित गायिका तथा सर्जक बबिता बनियाँ जेरीको शब्द तथा संगीतमा तयार भएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।विशेषता के छ भने, यो गीतमा नेपाली लोकसंगीत क्षेत्रका थुप्रै चर्चित गायक–गायिकाहरूको सामूहिक स्वर सुन्न सकिन्छ। गीतमा बबिता बनियाँ जेरी, विजय बनियाँ, चिज गुरुङ, श्याम राना, बालचन्द्र बराल, सुमन परियार, प्रितम पोखरेल, मिन विश्वकर्मा, सीताराम परियार, एसके सुनदास, सविता परियार, जेपी रेग्मी, प्रभु राज पाण्डे, सीमा थापा, भीमा कार्की, देवी थापा, प्रदीप रोका, प्रदीप बराइली, मीना बुढाथोकी, टेकराज भण्डारी, सागर बीसी तथा सरस्वती गुरुङ लगायतका कलाकारहरूको स्वर रहेको छ।
जीवनको यथार्थ, मानवीय अस्तित्व र भौतिक सम्पत्तिप्रतिको मोहभन्दा मानवीय सम्बन्ध र सद्कर्मको महत्वलाई गीतमार्फत प्रस्तुत गरिएको छ। गीतको भावले श्रोताहरूलाई जीवनप्रति सकारात्मक सोच राख्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।गीतको संगीत संयोजन तथा मिक्सिङ–मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् भने रेकर्डिङ कार्य गोविन्द अनेकको रेकर्डिस्ट भूमिकामा प्रिज्म स्टुडियोमा सम्पन्न गरिएको हो।भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोको निर्देशन मदन खड्काले गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका हुन्। सम्पादनको जिम्मेवारी नविन घर्ती मगरले सम्हालेका छन्।Babita Baniya Jeri Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान तान्न सफल भएको छ। लोकसंगीतप्रेमी दर्शक तथा श्रोताहरूले गीतको सन्देश, शब्द चयन र सामूहिक प्रस्तुतीकरणको खुलेर प्रशंसा गरिरहेका छन्।नेपाली लोकसंगीत क्षेत्रमा सामूहिक स्वरको प्रयोग कमै हुने अवस्थामा ‘मरेर लानु के छ र बाजा’ ले फरक स्वाद र सशक्त सन्देश बोकेको गीतका रूपमा स्थान बनाउने अपेक्षा गरिएको छ।






















