काठमाडौं । नेपालका आदिवासी जनजाति मातृभाषी चलचित्र तथा चलचित्रकर्मीहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ मा गुरुङ भाषा चलचित्र ङोल्स्यो रामरानी छनोट हुन सफल भएको छ ।नेपालको मौलिक कला, संस्कृति तथा आदिवासी जनजाति समुदायको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त महोत्सव आगामी जेठ १७, १८ र १९ गते चलचित्र विकास बोर्ड को सभाहल, काठमाडौंमा सम्पन्न हुने जनाइएको छ ।आदिवासी जनजाति चलचित्र महासंघका अनुसार महोत्सवमा प्रदर्शनका लागि कम्तीमा ६० प्रतिशत मातृभाषा प्रयोग भएका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र समावेश गरिनेछ । यही मापदण्डअन्तर्गत गुरुङ भाषामा निर्माण गरिएको चलचित्र ‘ङोल्स्यो रामरानी’ महोत्सवका लागि छनोट भएको हो ।
गुरुङ संस्कृति, भाषा र पहिचानलाई आधुनिक सिनेमाको माध्यमबाट उजागर गर्ने उद्देश्यले निर्माण गरिएको ङोल्स्यो रामरानी ले यसअघि काठमाडौंसहित पोखरा, चितवन, धादिङ र हङकङमा समेत सफल तथा हाउसफुल प्रदर्शन गरिसकेको छ ।फिल्म प्रदर्शन भएका स्थानहरूमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो । चलचित्र हेरेपछि धेरै दर्शक भावुक बनेका थिए भने कतिपयले चलचित्रले गुरुङ समुदायको वास्तविक जीवनशैली र संस्कृतिलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।निर्माण टिमका अनुसार जहाँ–जहाँ फिल्म प्रदर्शन गरियो, त्यहाँ दर्शकले दिएको माया, उत्साह र सकारात्मक प्रतिक्रियाले टिमलाई थप ऊर्जा दिएको छ ।
तमु चलचित्रप्रतिको बढ्दो आकर्षण
पछिल्लो समय गुरुङ भाषा तथा तमु संस्कृतिमा आधारित चलचित्रहरूले नेपाली फिल्म क्षेत्रमा छुट्टै पहिचान बनाउँदै गइरहेका छन् । विशेषगरी तमु चलचित्रप्रतिको आकर्षण नेपाल मात्र नभई विदेशमा रहेका नेपाली तथा गुरुङ समुदायमाझ पनि तीव्र रूपमा बढिरहेको छ ।यही निरन्तरतामा मुनाल फिल्म प्रालि को ब्यानरमा निर्माण गरिएको ‘ङोल्स्यो रामरानी’ले गुरुङ संस्कृतिको मौलिकता, परम्परा, भाषा र भावनालाई शक्तिशाली ढंगले प्रस्तुत गरेको बताइएको छ ।फिल्मको कथा बिबेक गुरुङ ले तयार गरेका हुन् भने पटकथा जनक गुरुङले लेखेका छन् । चलचित्रको निर्देशन पनि बिबेक गुरुङले गरेका हुन् । गुरुङ भाषाका चलचित्र क्षेत्रमा बिबेक गुरुङले यसअघि दिएका योगदानलाई दर्शकले रुचाउँदै आएका छन् ।

दमदार कलाकारिता र सामाजिक सन्देश
चलचित्रमा राम प्रसाद गुरुङ, विष्णु गुरुङ, सपना गुरुङ, इशा गुरुङ र रेशम गुरुङ लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ ।फिल्मका प्रिमियर शोहरूमा गुरुङ चलचित्र क्षेत्रका कलाकार, समाजसेवी, व्यवसायी, गायक–गायिका तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उपस्थित अधिकांशले चलचित्रको खुलेर प्रशंसा गर्दै गुरुङ भाषा–संस्कृतिमा आधारित चलचित्रहरूले राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् ।दर्शकहरूको प्रतिक्रिया अनुसार चलचित्रले गाउँघरको वास्तविक जीवनशैली, प्रेम, पारिवारिक सम्बन्ध र संस्कृतिलाई अत्यन्त स्वाभाविक ढंगले प्रस्तुत गर्न सफल भएको छ ।निर्माण टिमका अनुसार ‘ङोल्स्यो रामरानी’ले गुरुङ समुदायको संस्कार, संस्कृति, पहिचान र सामाजिक सन्देशलाई समेटेको छ । विशेषगरी नयाँ पुस्तामा आफ्नो भाषा, संस्कृति र पहिचानप्रति गर्वको भावना जागृत गराउने उद्देश्य फिल्मको मुख्य लक्ष्य रहेको बताइएको छ ।चलचित्रका मुख्य कलाकार राम प्रसाद गुरुङ का अनुसार नेपालका अन्य सहरसँगै विदेशका विभिन्न देशबाट समेत फिल्म प्रदर्शनका लागि माग आइरहेको छ । यसले गुरुङ चलचित्रप्रतिको दर्शकको रुचि र अपेक्षा झनै बढिरहेको संकेत गरेको उनले बताए ।























