काठमाडौं । नेपाली टेलिसिरियल क्षेत्रमा नयाँ सामाजिक कथावस्तुमा आधारित धारावाहिक ‘सम्झौता’ सार्वजनिक गरिएको छ । महिला सशक्तिकरण, सामाजिक यथार्थ र पारिवारिक संघर्षको विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको यस धारावाहिकले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास निर्माण टोलीले लिएको छ ।लोकप्रिय टेलिसिरियल ‘जुठे’ मार्फत “जुनिकिरी” नामले चर्चामा आएकी अभिनेत्री सरिता ढुंगाना को मुख्य अभिनय रहेको ‘सम्झौता’ ले समाजमा महिलाले भोग्दै आएका पीडा, संघर्ष, विभेद र आत्मसम्मानको लडाइँलाई मार्मिक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।धारावाहिक विशेषगरी पारिवारिक र सामाजिक दबाबबीच आफ्नो पहिचान र अस्तित्व खोज्दै अघि बढ्ने महिलाको कथामा आधारित छ । महिलाले समाजमा भोग्नुपरेका चुनौती, सम्बन्धमा आउने उतारचढाव तथा आत्मनिर्भर बन्ने संघर्षलाई कथाले गहिराइका साथ चित्रण गरेको बताइएको छ ।निर्माण टोलीका अनुसार ‘सम्झौता’ केवल मनोरञ्जनमा सीमित नभई सामाजिक चेतना जगाउने उद्देश्यसहित निर्माण गरिएको हो । समाजमा महिलाको भूमिकाबारे सकारात्मक बहस सिर्जना गर्नुका साथै दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको निर्देशकको भनाइ छ ।
यस धारावाहिकका लेखक तथा निर्देशक विजय मगर हुन् । उनले वर्तमान समाजमा भइरहेका यथार्थ घटनालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै चेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले धारावाहिक निर्माण गरिएको बताएका छन् । उनका अनुसार समाजमा लुकेर रहेका वास्तविक कथाहरूलाई पर्दामार्फत उजागर गर्ने प्रयास गरिएको हो ।धारावाहिकमा सरिता ढुंगानासहित एके अर्जुन खड्का, स्नेहा कटुवाल, टेक विक्रम थापा, गीता थापा, अर्जुन कटवाल, नवीन काफ्ले, भूमिका गिरी, रामबाबु रेग्मी, समाना सिटौला, पुकार चापागाईं, विशाल वाग्ले लगायत कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरूको स्वाभाविक अभिनयले कथालाई अझ जीवन्त र प्रभावशाली बनाएको निर्माण पक्षले जनाएको छ ।धारावाहिकको शीर्ष गीतमा पनि विशेष मेहनत गरिएको छ । गीत तथा संगीत निर्देशक विजय मगरकै रहेको छ भने स्वर गायिका सम्झना योङहाङले दिएकी छन् । गीतको संगीत संयोजन आदेश गुरुमच्छानले गरेका हुन् । त्यस्तै ध्वनि मिश्रण तथा परिष्करणको काम सुभाष कुथुमी राईले गरेका छन् ।श्रृङ्गार कलाकारमा आकृति खड्का रहेकी छन् भने प्राविधिक टोलीमा अनिल पराजुली, टाइलन राई र आशिष खत्रीको महत्वपूर्ण योगदान रहेको छ । निर्माण व्यवस्थापनमा उनिश मेवाहाङ तथा अनिल पराजुली रहेका छन् । पृष्ठभूमि संगीत आदेश गुरुमच्छानले तयार गरेका हुन् ।‘सम्झौता’ को छायांकन विशाल थापा र उनको टोलीले गरेको हो । सम्पादन तथा रङ संयोजनको जिम्मेवारी एके अर्जुन खड्काले सम्हालेका छन् भने पश्च–निर्माणको काम दामी क्रियसनमार्फत सम्पन्न गरिएको हो ।विशेष कुरा के छ भने, यस धारावाहिककी सहायक निर्देशक स्वयं मुख्य कलाकार सरिता ढुंगाना रहेकी छन् । अभिनयसँगै निर्माण र निर्देशन पक्षमा समेत उनको सक्रियता देखिएको छ ।निर्माण टोलीका अनुसार ‘सम्झौता’ को प्रस्तुति शैली अन्य धारावाहिकभन्दा फरक बनाउने प्रयास गरिएको छ । भावनात्मक प्रस्तुति, सामाजिक यथार्थ, महिला आत्मसम्मान र सशक्त सन्देशलाई विशेष प्राथमिकता दिइएको निर्माण पक्षको भनाइ छ ।महिला सशक्तिकरण र सामाजिक चेतनाको बलियो सन्देश बोकेको ‘सम्झौता’ ले नेपाली टेलिसिरियल क्षेत्रमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ । सामाजिक यथार्थलाई नजिकबाट प्रस्तुत गरिएको यस धारावाहिकले विशेषगरी महिला दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ ।






















