काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा आयोजित “साल्पासिलिछो साँस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। साल्पासिलिछो गाउँपालिका तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्र, साल्पासिलिछो भोजपुरले वैशाख १८ गते माबु बजारमा महोत्सव आयोजना गरेको हो।साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा सम्पन्न महोत्सवमा राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माईला) प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ, उपाध्यक्ष अस्मिता कुलुङ, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवको मुख्य उद्देश्य मुन्दुम पदमार्ग तथा साल्पा पोखरी–सिलिछो क्षेत्रको सांस्कृतिक, धार्मिक, साहित्यिक र पर्यटकीय महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। नेपाल सरकारले घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्य सूचीमा समावेश गरेको मुन्दुम पदमार्गलाई थप प्रचार–प्रसार गर्दै स्थानीय स्तरमा पर्यटन, स्वरोजगार र आर्थिक विकास प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए।

महोत्सवमा भोजपुर, सोलुखुम्बु, खोटाङ, संखुवासभा, झापा, मोरङ, सुनसरी, काठमाडौं, पोखरा तथा भारतको सिक्किमबाट समेत श्रद्धालु, पर्यटक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिका तथा संखुवासभाको सिलिचोङ गाउँपालिकाबाट आएका धामीझाँक्रीहरूको विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रममा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकी, उपाध्यक्ष कृष्णप्रसाद चापागाईं, सचिव भरत कुलुङ, सह–सचिव सनम थापा, सदस्य राजेन्द्र सरवहारा निरौला, सदस्य तारानाथ पोखरेल तथा संखुवासभा साहित्यिक समाजका अध्यक्ष बीरेश राई लगायतका साहित्यकारहरूले साल्पा र सिलिछोको विषयमा रचना गरिएका कविता वाचन गरेका थिए।

यस अवसरमा साल्पा पोखरी र सिलिछो क्षेत्रको प्रचार–प्रसारमा साहित्य, गीत–संगीत तथा सिर्जनामार्फत योगदान पुर्‍याउने सर्जकहरू भरत कुलुङ, अजय अलङ्कार कुलुङ, हेमराज थुलुङ र युमन खालिङलाई सम्मान गरिएको थियो।

त्यसैगरी कुलुङ समुदायका धामीझाँक्रीहरूले कुलु रीदुम अर्थात् मुन्दुम प्रदर्शन गरेका थिए भने विभिन्न जातजातिको झाँकी प्रदर्शन तथा किराती मौलिक गीत “सै राजा सैसै, सै रानी सैसै” प्रस्तुत गरिएपछि महोत्सव थप ऐतिहासिक र आकर्षक बनेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया