नेपाली गीत–संगीत क्षेत्रमा लामो समयदेखि प्रतिक्षित रूपमा हेरिएका गायक बिनोद गुरुङ १५ वर्षपछि पुनः सक्रिय भएका छन्। उनले आफ्नो नयाँ गीत ‘हिम घोडा’ मार्फत संगीत क्षेत्रमा पुनरागमन मात्र गरेका छैनन्, बरु नेपालको कला, संस्कार र पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसमेत अघि सारेका छन्।लामो समयपछि सार्वजनिक गरिएको ‘हिम घोडा’ गीत केवल सांगीतिक प्रस्तुति मात्र नभई एक सन्देशमूलक सिर्जना भएको गायक गुरुङको भनाइ छ। विशेषगरी नेपालकै पर्यटकीय क्षेत्रको रूपमा विश्वभर परिचित मनाङ जिल्लाको प्राकृतिक सुन्दरता, सांस्कृतिक महत्व र मौलिक पहिचानलाई उजागर गर्ने उद्देश्यले गीत निर्माण गरिएको उनले बताएका छन्।गुरुङका अनुसार गीतमार्फत नेपाली कला, साहित्य, भेषभूषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै विश्वसामु चिनाउने प्रयास गरिएको छ। “हामीसँग भएका मौलिक सम्पदाहरूलाई जोगाउँदै विश्वभर पुर्‍याउनु आजको आवश्यकता हो,” भन्ने उनको धारणा रहेको छ।

नेपाली गीत–संगीत तथा फिल्म क्षेत्रमा गहिरो लगाव राख्ने गुरुङ यसअघि पनि केही नेपाली चलचित्रहरूमा निर्माताको रूपमा सक्रिय रहिसकेका छन्। आफ्नो जन्मभूमि, कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने अभियानमा लागिरहेका उनलाई केहीले त “सरकारले गर्नुपर्ने काम एक व्यक्तिले गरिरहेका छन्” भन्ने टिप्पणीसमेत गरेका छन्।हालै मात्र Yeti Binod Official Channel मार्फत सार्वजनिक गरिएको ‘हिम घोडा’ गीतले छोटो समयमै दर्शक–श्रोतामाझ ध्यान तान्न थालेको छ। गीतमा बिनोद गुरुङकै स्वर रहेको छ भने शब्द तथा संगीत आशुसेन लामाले तयार पारेका हुन्। एरेन्जर राजु खड्काले संगीत संयोजन गरेका छन्।गीतको भिडियो पक्ष पनि उत्तिकै सशक्त देखिन्छ। भिडियोमा कलाकार आनन्द गुरुङ र तलिशा गुरुङको दमदार अभिनय देख्न सकिन्छ, जसले कथालाई अझ जीवन्त बनाएको छ। छायांकन दीका गुरुङले गरेका छन् भने ड्रोन शट जोन किरातीले सम्हालेका छन्। मेकअप आर्टिस्ट छिमी तामाङको योगदान रहेको छ भने सम्पादन तथा कलर ग्रेडिङ पनि जोन किरातीले नै गरेका छन्।

गीतको कन्सेप्ट स्वयं बिनोद गुरुङकै रहेको छ भने कोरियोग्राफी तथा निर्देशन पनि जोन किरातीले गरेका छन्। निर्माण पक्षमा समेत गुरुङ स्वयं निर्माता रहेका छन्। भिडियोमा अलिना गुरुङ, गोपी माया तामाङ, बीना तामाङ र बिनिता तामाङको नृत्य प्रस्तुति देख्न सकिन्छ।हिम घोडा’ले नेपाली मौलिकता, पहिचान र पर्यटन प्रवर्द्धनलाई एकसाथ समेटेकोले यो गीतले आगामी दिनमा अझ व्यापक सफलता हासिल गर्ने अपेक्षा गरिएको छ। १५ वर्षपछि फर्किएका बिनोद गुरुङको यो प्रयासले नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया