काठमाडौँ — तमु (गुरुङ) चलचित्र क्षेत्रमा एउटा नयाँ इँटा थप्ने लक्ष्यका साथ निर्माण गरिएको चलचित्र ‘प्युरी’ यतिबेला आम दर्शकको उच्च प्रतीक्षाको केन्द्रमा रहेको छ। चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा नेपालमा मात्र नभई प्रवासमा रहेका नेपालीहरूमाझ पनि चुलिएको छ।निर्माण पक्षका अनुसार चलचित्र ‘प्युरी’ आगामी बैशाख ११ र १२ गते काठमाडौँको गंगबुस्थित इन्फिनिटी मुभिजमा विशेष प्रदर्शन हुँदैछ। ट्रेलरमा देखिएको मौलिकता र गीतमा रहेको भावनात्मक स्पर्शका कारण हलमा दर्शकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।गुरुङ समुदायको मौलिक जीवनपद्धति, परम्परा, र सांस्कृतिक मूल्यबोधलाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रले तमु चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ। निर्माण टिमका अनुसार यसले ग्रामीण परिवेशदेखि समकालीन सामाजिक संरचनासम्मका विविध पाटोलाई अत्यन्तै संवेदनशील र कलात्मक ढंगले प्रस्तुत गरेको छ।विशेष गरी गुरुङ भाषा र संस्कृतिको संवर्द्धन गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने लक्ष्य चलचित्रले बोकेको छ।
प्रमुख कलाकारहरू: आनन्द गुरुङ, रिना गुरुङ, धिरेन शाक्य, उमेश गुरुङ, उषा खड्की, कविता आले, राजु गुरुङ, किरण गुरुङ, नवराज जंग थापा, मौसम कुमार गुरुङ, साम्या गुरुङ, प्रेणा गुरुङ, सुमिता गुरुङ, सोनी कँडेल, रबिना गुरुङ।बाल कलाकार: क्रिस्टिना गुरुङ, आयुषा गुरुङ, दिपेश गुरुङ।संगीत: डिका गुरुङ र सुदीप सागरको उत्कृष्ट एरेन्जमेन्ट रहेको छ।प्राविधिक तर्फ छायाकार खेम थापाले चलचित्रलाई दृश्यमा उतारेका छन् भने उमेश गुरुङ र रोशन श्रेष्ठको संयुक्त निर्देशनमा चलचित्र तयार भएको हो। कथा र संवादमा मनबहादुर गुरुङ र उमेश गुरुङको मेहनत देखिन्छ।किरण गुरुङ, नवराज जंग थापा र तृष्टराज गुरुङले निर्माण गरेको यस चलचित्रको सह-निर्माता रबिना गुरुङ हुनुहुन्छ। पछिल्लो समय गुरुङ भाषिक चलचित्रप्रतिको बढ्दो आकर्षणलाई ‘प्युरी’ले थप उर्जा प्रदान गरेको छ।निर्माण टिमका अनुसार, “यो केवल एउटा चलचित्र मात्र नभएर हाम्रो समुदायको कथा र व्यथालाई विश्वभर चिनाउने एउटा माध्यम हो। गीत र ट्रेलरलाई प्राप्त प्रतिक्रियाले हामीलाई अझ उत्साहित बनाएको छ।”गीत सार्वजनिक भएपछि टिकटक, फेसबुक र युट्युब जस्ता प्लेटफर्ममा यसको अभिनय र दृश्यहरूको निकै प्रशंसा भइरहेको छ। दर्शकहरूले यसलाई ‘मौलिक कथावस्तु र दमदार प्रस्तुति’को संगमका रूपमा व्याख्या गरेका छन्।बैशाख ११ र १२ गते हुने प्रदर्शनले ‘प्युरी’को व्यावसायिक भविष्य मात्र तय गर्ने छैन, यसले नेपाली चलचित्र बजारमा क्षेत्रीय र भाषिक चलचित्रको प्रभावलाई पनि थप मजबुत बनाउने निश्चित छ।





















