मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ठूलो झट्का लागेको छ। पार्टीकी संस्थापक सभापति तथा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले पार्टी परित्याग गरेकी छन्।शर्माले विज्ञप्ति जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट राजीनामा दिएको उल्लेख गरेकी छन्। आफ्नो निर्णयबारे स्पष्ट पार्दै उनले पार्टीभित्र इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको तथा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन्। यस्ता गतिविधिका कारण पार्टीमा बस्न नसकेको उनको भनाइ छ।

रास्वपा परित्याग गरेकी शर्मा अब नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ। उनको यो निर्णयले मधेश प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। विशेषगरी रास्वपाबाट कांग्रेसतर्फको यो कदमलाई आगामी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।
यस विषयमा रास्वपाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। तर मधेश प्रदेशमा संगठन विस्तारको अभियान चलाइरहेको पार्टीका लागि शर्माको बहिर्गमनलाई अर्थपूर्ण घटनाका रूपमा विश्लेषण गरिएको छ।






















