कुनै समय एकपछि अर्को सुपरहिट गीत दिँदै नेपाली संगीत क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायक आँसु लामा लामो समयसम्म सांगीतिक गतिविधिबाट टाढा रहे। सर्वाधिक सफल गीतमार्फत रातारात चर्चामा आएका उनी अचानक गायब भएपछि उनका गीतप्रेमीहरूबीच अनेक प्रश्न उठेका थिए।तर अहिले आँसु लामा पुनः नेपाली संगीत क्षेत्रमा सशक्त कमब्याक गर्दै धमाकेदार उपस्थित भएका छन्। सफल चलचित्र ‘रिमै’ बाट पुनः उदाएका लामा, सोही चलचित्रमा समावेश गीत ‘लाहुरे म त आइहाल्छु, पेन्सन जिन्दगीमा के लिन्छौ टेन्सन’ सार्वजनिक हुनासाथ सुपरहिट बनेको थियो। उक्त गीतले उनलाई फेरि एकपटक नेपाली श्रोता–दर्शकमाझ मजबुत रूपमा स्थापित गरिदियो।गीत चर्चामा आएपछि श्रोताहरूले प्रतिक्रिया दिँदै भनेका थिए— “आवाज भनेको यस्तो हुनुपर्छ, आँसु लामा जस्तो कलाकार नेपाली संगीत क्षेत्रमा खाँचो छ।” त्यसपछि सार्वजनिक गरिएको उनको अर्को गीत ‘राजी भए’ ले पनि राम्रो चर्चा कमाएको थियो।
यसै क्रममा गायक आँसु लामाले हालै आफ्नो नयाँ गीत ‘मेरो मन पनि त पत्थरको’ सार्वजनिक गरेका छन्। आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा आँसु लामाकै स्वर रहेको छ। गीतमा कोरस स्वर लक्ष्मी तामाङ र सुमिना लो तामाङको रहेको छ भने संगीत आँसु लामा स्वयंले भरेका हुन्। गीतका शब्द इन्द्र काजी गुरुङ (बाबु) ले लेखेका हुन् र एरेन्ज शिवा कनौजे मगरले गरेका छन्।गीतको भिडियो निर्देशन सुबास गुरुङले गरेका हुन् भने छायांकन तथा सम्पादन राजेन्द्र खड्का (राजन पुुवार) को रहेको छ। उक्त गीत तथा भिडियो ‘सुबास गुरुङ’ नामक आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।नयाँ गीत सार्वजनिक भएसँगै श्रोताहरूले आँसु लामाको पुनरागमनलाई सकारात्मक रूपमा लिँदै प्रशंसा गरिरहेका छन्। लामो समयपछि आएको उनको यो गीतले पनि नेपाली संगीत बजारमा राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।






















