आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर सार्वजनिक समारोहमा चलचित्रकर्मी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।सार्वजनिक गरिएको ट्रेलरले चलचित्रको कथावस्तु, द्वन्द्व, राजनीतिक चलखेल र पात्रहरूबीचको सम्बन्धलाई मुख्य रूपमा प्रस्तुत गरेको छ। ट्रेलर हेर्दा नै चलचित्रले सत्ताको लालच, शक्ति दुरुपयोग र त्यसबाट समाजमा पर्ने प्रभावलाई गहिरो रूपमा उठान गरेको स्पष्ट देखिन्छ।

‘सत्ताका लागि नेताले जे पनि गर्न सक्छन्’ भन्ने यथार्थपरक सन्देशलाई ट्रेलरले प्रभावशाली ढंगले चित्रण गरेको छ।ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ लाई दर्शकले यसअघि नदेखेको शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ। उनको एक्सन, संवाद र हाउभाउले चलचित्र पूर्ण रूपमा एक्सन–सस्पेन्स शैलीको भएको संकेत गर्छ। साथै, सुशील र अभिनेत्री अञ्जना बराइली बीचको केमेस्ट्रीले पनि ट्रेलरलाई थप आकर्षक बनाएको छ। अञ्जना यस चलचित्रमा प्रहरी इन्स्पेक्टर को भूमिकामा देखिएकी छन्, जहाँ उनी न्याय र कर्तव्यबीचको द्वन्द्वमा उभिएकी एक सशक्त महिला पात्रका रूपमा प्रस्तुत छिन्।ट्रेलरमा सुशील र अञ्जनाका अलावा वरिष्ठ अभिनेता सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतका कलाकारहरूको दमदार उपस्थिति देख्न सकिन्छ। छोटो समयमै देखाइएका यी पात्रहरूले कथामा महत्त्वपूर्ण मोड ल्याउने संकेत गरेका छन्, जसले दर्शकको उत्सुकता थप बढाएको छ।ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक विजय केरुङ ले भने,“चलचित्रको मूल कथावस्तुलाई नछोडी ट्रेलर तयार गरिएको हो। ‘परिवर्तन’ केवल एक्सन मात्र होइन, यसमा गहिरो सामाजिक सन्देश पनि समेटिएको छ। दर्शकलाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने विश्वास हामीलाई छ।”


दिव्यासी फिल्म्स को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ एक्सन–सस्पेन्स विधा मा तयार गरिएको हो। चलचित्रको कथा तथा निर्माण दीपक शिवाकोटी ले गरेका हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका छन्। निर्देशन विजय केरुङले गरेका यस चलचित्रमा प्रविधि, एक्सन कोरियोग्राफी र कथावाचनलाई विशेष प्राथमिकता दिइएको निर्माण टिमको दाबी छ।सार्वजनिक ट्रेलरले दर्शक तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। एक्सन, राजनीति र सामाजिक यथार्थको संयोजनका कारण ‘परिवर्तन’ माघ ९ गतेको प्रदर्शनलाई लिएर दर्शकबीच उत्साह बढ्दो देखिन्छ। अब चलचित्रले पर्दामा कस्तो प्रभाव छोड्छ भन्ने प्रतीक्षा दर्शकले गरिरहेका छन्।

तपाईको प्रतिक्रिया