मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) निर्देशित चलचित्र ‘गोबर गणेश’ को ट्रेलर युट्युबमा सार्वजनिक भएसँगै विश्वभर ट्रेन्डिङमा पर्न सफल भएको छ। गएको शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले छोटो समयमै लोभलाग्दो भ्युज बटुल्दै युट्युबको ‘ट्रेन्डिङ मुभी ट्रेलर’ सूचीमा आफ्नो स्थान सुरक्षित गरेको हो।ट्रेलर सार्वजनिक भएलगत्तै दर्शकबाट आएका प्रतिक्रियाहरू अत्यन्त सकारात्मक देखिएका छन्। युट्युब ट्रेन्डिङअनुसार नेपालमा #१, कतारमा #११, अष्ट्रेलियामा #१४, जापानमा #१६, संयुक्त अरब इमिरेट्स (UAE) मा #१७, दक्षिण कोरियामा #१९ र साउदी अरबमा #२६ नम्बरमा ट्रेन्ड भइरहेको छ।ट्रेलरले पाएको व्यापक माया र समर्थनप्रति खुसी व्यक्त गर्दै निर्देशक मरिचमान श्रेष्ठले भने,“दर्शकको यो मायाले ठूलो खुसी र हौसला दिएको छ। अब फिल्मले पनि दर्शकको अपेक्षा पूरा गर्नुपर्छ भन्ने जिम्मेवारी बढेको छ। मेहनत गरेरै फिल्म बनाएका छौं, हलमा पनि दर्शकको माया पाउने विश्वास छ।”
‘गोबर गणेश’ हास्य–सामाजिक कथामा आधारित चलचित्र हो। ट्रेलरमा पढाइमा कमजोर एक गाउँले युवाले काठमाडौं आएपछि भोग्नुपरेको संघर्ष र जीवनयात्रालाई रोचक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल देखिन्छ।चलचित्रमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), वर्षा शिवाकोटी, पदम तामाङ, पुजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ, विशाल पहाडी, रमेश बुढाथोकी, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, विनोद न्यौपाने र सन्तोष बानियाँलगायत कलाकारहरूको अभिनय रहेको छ।प्राविधिक पक्षमा पनि चलचित्र सबल देखिएको छ। चलचित्रका चिफ एडी तारानाथ न्यौपाने, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन (डीओपी) तथा विपीन मल्लको सम्पादन रहेको छ।चलचित्र ‘गोबर गणेश’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।























