नेपाली चलचित्र ‘गोबर गणेश’को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर प्रदर्शनसँगै सिनेमा हलभित्र केही क्षण सन्नाटा छाएको थियो भने कार्यक्रममा उपस्थित पत्रकारदेखि कलाकारसम्म भावुक बनेका थिए ।सार्वजनिक ट्रेलरले एक साधारण गाउँले युवाको असाधारण संघर्षको कथा प्रस्तुत गरेको छ । पढाइमा कमजोर भएपछि अवसरको खोजीमा काठमाडौं छिरेको एक युवकले जीवन बदल्न गरेको संघर्ष ट्रेलरको मूल कथावस्तु बनेको छ । गाउँमा बसेर देखेको काठमाडौंको चम्किलो सपना सहर आइपुगेपछि कति कठोर र यथार्थपूर्ण हुन्छ भन्ने पक्षलाई ट्रेलरले मार्मिक ढंगले देखाएको छ ।

ट्रेलरमा गाउँमा रहँदा कल्पना गरेको काठमाडौं र वास्तविक काठमाडौंबीचको ठूलो भिन्नतालाई उजागर गरिएको छ । पढाइले साथ नदिएपछि फोहोर उठाउने कामलाई आफ्नो भविष्य बदल्ने विकल्पका रूपमा रोजेको युवकको जीवन यात्रा, उसका कठिन दिनहरू, पसिना र आँसु ट्रेलरमा स्पष्ट रूपमा देख्न सकिन्छ । फोहोर संकलन गरेर जीवन सुधार्ने सोच बोकेको युवकको संघर्षमार्फत काठमाडौंको संघर्षशील जीवन र त्यसले परिवार तथा सपनामा पार्ने प्रभावलाई ट्रेलरले जीवन्त बनाएको छ ।घरमा पुलपुलिएर हुर्किएको छोरो सहरमा आएर आफ्नै कमाइमा बाँच्न बाध्य हुँदा भोग्नु पर्ने कठिन समय, अपमान र मानसिक पीडा ट्रेलरको अर्को बलियो पक्ष बनेको छ । आमाले आफ्नो छोराको दयनीय अवस्था थाहा पाउँदाको क्षण ट्रेलरमा अत्यन्तै भावुक रूपमा चित्रित गरिएको छ । गाउँबाट सहर पस्दा देखेको सपना काठमाडौं आइपुगेपछि कसरी चकनाचुर हुन्छ भन्ने कथा ट्रेलरले आम नेपाली युवाको प्रतिनिधि कथाका रूपमा प्रस्तुत गरेको छ ।यसअघि निर्माणपक्षले ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरिसकेको थियो । उक्त गीतमा मरिचमान श्रेष्ठको सशक्त स्वर रहेको छ, जसले चलचित्रप्रति दर्शकको उत्सुकता थप बढाएको थियो । ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शक र मिडियाको चासो झनै बढेको देखिन्छ ।

चलचित्र ‘गोबर गणेश’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रलाई मरिचमान श्रेष्ठ, जसलाई दर्शकले ‘बल्छी धुर्बे’का नामले चिन्छन्, ले निर्देशन गरेका हुन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा बल्छी धुर्बेसँगै वर्षा शिवाकोटी प्रमुख भूमिकामा देखिँदै छन् ।चलचित्रमा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारहरूको अभिनय रहेको छ, जसले चलचित्रलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्राविधिक पक्षमा पनि चलचित्र ‘गोबर गणेश’ सबल देखिएको छ । चलचित्रका चिफ एडी तारानाथ न्यौपाने हुन् भने योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन (डीओपी) र विपीन मल्लको सम्पादन रहनेछ । चलचित्रको पब्लिसिटी डिजाइन टौवा स्टुडियोले गरेको छ भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ ।नपालमा चलचित्र ‘गोबर गणेश’को वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ । सामाजिक यथार्थमा आधारित कथावस्तु, भावनात्मक प्रस्तुति र बलियो कलाकार समूहका कारण ‘गोबर गणेश’ ले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । ट्रेलरले देखाएको भावनात्मक गहिराइले चलचित्रले नेपाली समाजका धेरै नबोलेका कथाहरूलाई पर्दामा उतार्ने संकेत दिएको छ ।

तपाईको प्रतिक्रिया